जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मणिपाल शिक्षण अस्पताल : ८ दिनदेखि सुकमाया दुराकाे शव उठ्यो , तोडफोड गरेको आरोपमा ‘छावा’ पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पाेखराकाे मणिपाल अस्पतालमा चिकित्सक कुटपिट प्रकरणमा थप एक जना पक्राउ परेका छन् । गत ८ गते लमजुङबाट उपचारका लागि मणिपाल अस्पताल ल्याइएकी सुकमाया दुराको मृत्युपछि उत्पन्न तनावमा अस्पतालका चिकित्सकमाथि कुटपिट तथा अस्पताल ताेडफाेड भएकाे थियाे ।

अस्पताल तोडफोड गरेको आरोपमा ‘छावा’ भनेर चिनिने सुशील कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । घटनाकाे अनुसन्धानका क्रममा सिसी क्यामरामा तोडफोडमा उत्रिएको देखिएपछि कार्की पक्राउ परेका हुन् ।

यसैविच, पक्राउ परेका व्यक्तीहरूकाे रिहाइकाे माग गर्दै मृतकका आफन्तले विगत ८ दिनदेखि सुकमाया दुराकाे शव बुझेका थिएनन् । पक्राउ परेकाहरूकाे रिहाइका लागि प्रहरीले सहजिकरण गरिदिने बताएपछि मंगलबार बिहान (आज) शव उठाइएको छ ।

आफन्तले ८ दिनपछि अस्पतालबाट शव उठाएको एसपी थापाले जानकारी दिए ।

गत ८ गते चिकित्सकको लापरबाहीले सुकमायाको मृत्यु भएको भन्दै आफन्तका तर्फबाट डाक्टर अनिल शाहमाथि हातपात भएको थियो । डाक्टर कुटिएको विषयले देशैभरि आन्दोलन भएको थियो ।

याे घटनामा यसअघि पनि अस्पताल प्रशासन र डाक्टरबीच ६ बुँदे सहमति भएकाे थियाे । देशैभर चर्केकाे आन्दोलन साे सहमतिपश्चात नै मत्थर भएको थियो । तर, सहमति पछि पनि अस्पताल तोडफोड गरेकाे आराेपमा १२ असोजमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको थियो । सजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरी प्रहरीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनविपरीत काम गरेको कसुरमा मुद्दा अगाडि बढाएको छ ।

कास्की प्रहरी प्रमुख मोहनबहादुर थापाका अनुसार भीडबाट तोडफोड गर्ने र अराजकता निम्त्याउने अझै केही व्यक्ति खोजीमा छन् ।

मणिपाल प्रकरणमा माओवादी निकट चिकित्सक संगठनका नेता डा. दिनेश विकसमेत पक्राउ परेपछि स्वास्थ्यकर्मीले आन्दोलन झनै चर्को पारेका थिए । डाक्टरमाथि एकपछि अर्को आक्रमणका घटना भएको भन्दै चिकित्सकहरुले देशैभरि आन्दोलन गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले डाक्टर कुट्ने र तोडफोड गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता नै जनाएका थिए ।

चिकित्सकले डाक्टर कुट्ने, तोडफोड गर्नेलाई पक्राउ गर्नुपर्ने माग गर्दै आकस्मिकबाहेकका सेवा थप्प पार्दै प्रशासन कार्यालयअघि प्रदर्शनसमेत गरेका थिए भने आफन्तका तर्फबाट महेन्द्रपुलमा चक्काजाम गरेका थिए ।

यो प्रकरणमा इन्स्पेक्टर मदन श्रेष्ठ निलम्वनमा छन् भने वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेदप्रकाश जोशी काजमा हेडक्वाटर तानिएका छन् ।