जन्मभुमि खबर ,
पोखरा ।
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै एक दृष्टिबिहिन महिला शिक्षिकाले पोखरामा आमरण अनसन सुरु गर्नु भएको छ । पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दा गर्दै ६ महिना समय वितेसंगै अन्तिम विकल्पको रुपमा आइतबार विहान ९ः३० बजे देखि शिक्षा विकास निर्देशनालयको परिसरमै दृष्टिविहिन शोभा पौडेल आमरण अनसनमा बस्नु भएको हो ।
शिक्षक सेवा आयोगबाट निम्न माध्यामिक तहमा सिफारिस हुनु भएको पोखराकी दृष्टिबिहिन पौडेल पदस्थापना गर्ने क्रममा लम्जुङको दोर्दी गाउँपालिका बालकल्याण बिद्यालयमा परेका कारण त्यहाँ भौगोलिक तथा अपाङगता भएको दृष्टिले पनि सहायक आवश्यक पर्ने भएकोले गर्दा उक्त क्षेत्रमा जान नसक्ने अबस्था रहेको पौडेलको भनाई छ । पोखरा क्षेत्रका कुनै पनि बिद्यालयमा आफुलाई पदस्थापन र हाजिरी गराउने व्यवस्था मिलाउन पौडेलले सरकार समक्ष आग्रह समेत गर्नु भएको छ ।
दुर्गम गाँउ र कुनै पहुँच नभएकोले हाजिरी गराउन नसकिने बिद्यालयको पत्र समेतका आधारमा पटक पटक पालिका देखि मन्त्रालय सम्म अनुरोध गर्दा पनि नसुने पछि आज देखि गण्डकी प्रदेश शिक्षा बिकास निर्देशनालय , शिक्षा बिकाश समन्यय एकाई कास्कीमा आमरण अनशन बस्न बाध्य भएको उहाँका श्रीमान श्रीकान्त सापकोटाले एटुजेडलाई बताउनु भयो । उहाँले आफ्नो फेसवुक स्टाटसमा अपाङ्गता भएका व्यक्तिहरूको मूल मुद्दा पहुँच युक्तलाई नछोड्न अपाङ्गताको नाममा हुने अन्याय, असमानता, विभेद विरुद्धमा लड्ने प्रेरणा मिलोस् भन्ने शुभेच्छा समेत दिनु भएको छ । उहाँको माग पुरा गराउन उनका आफन्त मात्र होइनन केही शिक्षकहरुले समेत माग गर्नु भएको छ ।
नेपालको संबिधान अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धि ऐन २०७४ अनुसार दृष्टिबिहिन महिला शिक्षकलाई पायक पहुँचयुक्त बिद्यालयमा पदस्थापन गरि रोजगारिको अधिकार सुनिश्चित गर्न सहारा बाल आधारभूत बिद्यालयकी प्रधानाध्यापक सोचना अधिकारीले माग गर्नु भएको छ । उहाँले पनि सामाजिक संजाल फेसवुकबाट उहाँको माग अविलम्ब पूरा गर्न माग गर्दै दृष्टिबिहिन महिला आमरण अनसन बस्नु पर्ने बाध्यात्मक परिस्थितीमा पुर्याउने कार्य निन्दनिय भएको उल्लेख गर्नु भएको छ । शोभा पौडेलको माग प्रति ऐक्यबद्वता जनाउदै उहाँको जीवन रक्षाको साथै शिघ्र समाधानका लागि सरकारको ध्यानाकर्षण समेत अधिकारीले गराउनु भएको छ ।