जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको मित्रमिलन सहकारीविरुद्ध सहकारी रजिष्ट्रारमा उजुरी, अध्यक्ष र प्रबन्धक प्रहरी नियन्त्रणमा

जन्मभुमि खबर ,
पोखरा ।

आफूूहरुले बचत गरेको पैसा हिनामिना गरेको भन्दै बचतकर्ताहरुले पोखरा नयाँबजारमा रहेको मित्रमिलन सहकारी संस्थाविरुद्ध उजुरी दिएका छन् । सहकारीका ३५ जना बचतकर्ताले एकमुष्ट सहकारी रजिष्ट्रार कार्यालय, गण्डकीमा उजुरी दिएका हुन् ।

आफूहरुको बचत हिनामिना भएको र फिर्ता माग्दासमेत नदिएको भन्दै कार्यालयमा उजुरी दिएको राष्ट्रिय सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीकी निमित्त प्रमुख ईश्वरी ढकालले जानकारी दिइन् ।

‘मौखिक रुपमा उजुरी त पहिलेदेखि नै आएको थियो । हामीले काउन्सलिङ गरेका थियौं । यसपटक लिखित रुपमा उजुरी परेको छ । हामीले हाम्रोतर्फबाट छानबिन गरेका छौं । आवश्यक छानबिनका लागि प्रहरीमा पनि निवेदन पठाएका छौं,’ उनले भनिन् ।

सहकारी रजिष्ट्रारको कार्यालयले आइतबार सहकारीविरुद्ध आवश्यक छानविन तथा कारवाही गर्न जिल्ला प्रहरी कार्यालय कास्कीमा पत्र पठाएको थियो । ‘पोखरा ९ मा संचालित यस कार्यालयको नियमन दौवाधिकार भित्र रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ३४ जना बचतकर्ताहरुले आइतबार कार्यालयमा दर्ता गर्नुभएको निवेदनको प्रति यसै पत्रसाथ संलग्न छ । निवेदकहरुको माग बमोजिम सो संस्थामा आवश्यक छानविन गरी कारवाही प्रकृया अगाडी बढाउनुहुन सिफारिस साथ अनुरोध छ,’ सहकारी रजिष्ट्रारले लेखेको पत्रमा भनिएको छ ।

सहकारी सञ्चालकहरुले अनुत्पादक क्षेत्रमा लगानी गर्दा यो अवस्था आएको सहकारी रजिष्ट्रार कार्यालयकी निमित्त प्रमुख ढकालले बताइन् । ‘सहकारी सञ्चालकहरुले अनुत्पादक क्षेत्र लगानी गर्ने, सहकारीको मूल्य मान्यताविपरित घर जग्गामा लगानी गरेको कारण यो अवस्था आएको हो,’ ढकालले भनिन् ।

जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी मोहनकुमार थापाले सहकारी रजिष्ट्रारको पत्र प्राप्त भएको र पत्रउपर आवश्यक छानबिन अगाडि बढाइएको बताए । ‘पिडितहरुले सहकारी रजिष्टारको कार्यालयमा निवेदन दिनुभएको रहेछ । रजिष्टारले आवश्यक कारवाहीका लागि पत्र पठाएको थियो । पत्रउपर हामीले अनुसन्धान सुरु गरेका छौं,’ उनले भने ।

बचत हिनामिनाका विषयमा थप विवरण उपलब्ध गराउन सहकारीलाई पत्र काटेको एसपी थापाले सुनाए । ‘हामीले सहकारीलाई के कति अपचलन भयो भनेर पत्र पठाएका छौं । रजिष्टार कार्यालयले अध्ययन गरेर प्रतिवेदन पठाएपछि हाम्रो भूमिका सुरु हुन्छ ।’

मित्रमिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारी यसअघि नै पक्राउ परिसकेका छन् । सहकारीको बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि उनीहरु प्रहरीले कात्तिक ४ गते पक्राउ गरिएको हो ।

बचतकर्तालाई दिएको चेक नसाटिएपछि अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीविरुद्ध उजुरी परेको थियो । उनीहरुविरुद्ध बैकिङ मुद्धामा हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए ।