जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, पोखराका तत्कालीन डिपो प्रमुख धरौटीमा रिहा

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, पोखराका तत्कालीन डिपो प्रमुख चित्त रञ्जन दासलाई ५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । नेपाल आलय निगम प्रादेशिक कार्यालय गगनगौंडा डिपो पोखरामा भएको तेल अपचलन घटनाका मुख्य आरोपित तत्कालीन डिपो प्रमुख दासलाई आइतबार ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

आइतबार भएको थुनछेक बहसपछि न्यायाधीश ऋषिराम आचार्यको इजलासले दासलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका शाखा अधिकृत रामबहादुर किसानले जानकारी दिए । दास आइतबार नै ५ लाख धरौटी बुझाएर रिहा भएका छन् । यससँगै तत्कालीन डिपो प्रमुख दास एक दिन पनि हिरासत नबसी धरौटीमा रिहा भएका छन् । उनी गत साउन २५ गतेदेखि फरार थिए ।

उनी विरुद्ध गत साउन ३० गते जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएर फरार रहेका दास आइतबार भएको थुनछेक बहसमा सहभागी भएका थिए । उनी सहभागी भएको थुनछेक बहसले उनलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । दासलाई नेपाल आयल निगमले साउन २५ गते निलम्बन गरेको थियो ।

यसअघि इन्धन अपचलनमा संलग्न पेट्रोल पम्प व्यवसायी बाबुराम जमरकट्टेलसहित ३ जनालाई धरौटी भइसकेका छन् । व्यवसायी जमरकट्टेलसहित गण्डकी(धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुङ्गाना र ट्याङ्कर चालक निर्मल थापा धरौटीमा छुटेका हुन् । ट्याङ्कर धनीसमेत रहेका जमरकट्टेल १ लाख ५० हजार, ढुङ्गाना १ लाख र चालक थापा ७५ हजार धरौटीमा छुटेका थिए ।

गत साउन २५ गते डिजेलको पैसा तिरेर निस्केको ट्याङ्कर लाही जिल्ला प्रशासन कार्यालय, कास्कीको अनुगमन टोलीले नियन्त्रणमा लिई जाँच गर्दा १५ हजार २ सय लिटर डिजेल फेला परेको थियो । तोकिएभन्दा ३ हजार २ सय लिटर बढी डिजेल अपचलन गरेको घटनामा प्रहरीले विस्तृत अध्ययन गरी आलय निगमको तत्कालीन डिपो प्रमुख चित्त रञ्जन दाससहित तिन जनालाई कारबाहीका लागि मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन दिएको थियो ।

सरकारी वकिलको कार्यालयले अदालतमा डिपो प्रमुख दासलाई कम्तीमा ५ वर्ष जेल सजाय र ५० हजार रुपैयाँ जरिवाना माग दाबी गरी मुद्दा दायर गरेको थियो । अन्य ३ जना व्यवसायीलाई जनही ३ वर्ष जेल सजाय वा ३० हजार जरिवाना वा दुवै सजायको माग दाबी गरी मुद्दा दायर गरिएको थियो ।

निगमको डिपोबाट डिजेल लोड गरी पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग२ख ८३६ नम्बरको ट्याङ्कर कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वासुदेव घिमिरेको आदेशमा नियन्त्रणमा लिएको थियो ।

१२ हजार लिटर क्षमताको उक्त ट्याङ्कर मा ३ हजार लिटर इन्धन चोरी गरी बिक्री गर्न पठाइएको थियो । जिल्ला प्रशासन, नापतौल कार्यालय र आलय निगमले संयुक्त रूपमा नाप जाँच गर्दा ३ हजार लिटर बढी इन्धन भेटिएको थियो ।

निगम गण्डकी प्रदेशका कार्यालय प्रमुख चित रञ्जन दासमाथि डिपोका लागि तोकिएको नोक्सानी लक्ष्यको दुरुपयोग गरी इन्धन चोरी गर्ने गरेको आरोप लाग्दै आए पनि यसअघि प्रमाण भेटिएको थिएन । दास प्रदेश प्रमुख बनेपछि गण्डकीमा निगमले अघिल्लो २ आर्थिक वर्षभन्दा दोब्बर नोक्सानी गराइएको निगम केन्द्रीय कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

साउन २५ गते नियन्त्रण गरिएको ट्यांकरको चलान, बिल र गेट पास समेत दासले आफै सही गरेर पठाएका थिए । बरामद गरिएको ३ हजार लिटर डिजेलको मूल्य करिब ४ लाख ५९ हजार रुपैयाँ छ । १२ हजार लिटरको बिल काटेर दासले १५ हजार लिटर डिजेल उपलब्ध गराइदिएका थिए । बिक्री भएभन्दा बढी डिजेल ओसारपसार गर्ने ट्याङ्कर जमरकट्टेलको हो ।