जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एमाले गण्डकी प्रदेश अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्ने

जन्मभुमि खबर ,
पोखरा ।

नेकपा (एमाले)को गण्डकी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै छ । अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

प्रदेशका ८५ पालिकामध्ये ८४ पालिकामा सर्वसम्मतरूपमा प्रतिनिधि छनोट भएका एमालेले जनाएको छ । कास्कीको रूपा गाउँपालिकामा खुला प्रतिनिधिमा मतदानबाट प्रतिनिधि छनोट गर्नुपरेको थियो ।

अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन् ।

अधिवेशनका लागि पोखराका २१ वटा होटल बुक गरिएको एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले जानकारी दिए । गण्डकीमा ११ जिल्ला भए पनि चार जिल्लाले ५० प्रतिशतभन्दा बढी मत होल्ड गर्छन् । प्रदेश राजधानी रहेको कास्कीमा सबैभन्दा धेरै १४६ प्रतिनिधि छन् । स्याङ्जाबाट ११३ प्रतिनिधि आउँदा प्रदेशको सबैभन्दा सानो जिल्ला पर्वतबाट ११० र कान्छो जिल्ला नवलपुरबाट १०९ प्रतिनिधि छनोट भएका छन् ।

यी चार जिल्लाका प्रतिनिधिको संख्या जोड्दा ४७८ हुन्छ । यो संख्या कुल मतदाता संख्याको झन्डै ५३ प्रतिशत मत हो । बाँकी जिल्लामध्ये गोरखाबाट ५३, बाग्लुङबाट ७२, तनहुँबाट ८२, मुस्ताङबाट १६, लमजुङबाट ६५ प्रतिनिधि छनोट भएका छन् । मनाङबाट १४ जना प्रतिनिधि छानिँदा म्याग्दीबाट ४२ जना र एमालेको जनसंगठनबाट ८६ प्रतिनिधि छनोट भएका छन् ।

एमाले गण्डकीका उपसचिव एवम् प्रचारप्रसार उपसमितिका संयोजक रश्मि आचार्यका अनुसार कुल प्रतिनिधिमध्ये खुला महिलाबाट १९३, खुला ३९०, दलित ११५, दलित महिला ५४, मजदुर संगठनबाट १६ प्रतिनिधिले अधिवेशनमा भाग लिँदै छन् ।

पोखरा अमरसिंह चोकमा हुने अधिवेशन सुरु हुनुभन्दा अगाडि हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्‍याली हुने छ ।