जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सेती नदीमा आकर्षक डिजाइनको ‘सिग्नेचर’ पुल निर्माण सुरु

 

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा–मुग्लिन राजमार्गअन्तर्गत पोखराको सेती नदीमा आकर्षक डिजाइनको ‘सिग्नेचर’ पुल निर्माण सुरु भएको छ ।

‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा जगको काम भइरहेको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले जनाएको छ । गत वर्ष ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन समय लागेकाले ढिलो गरी पुल निर्माण सुरु गरिएको हो । निर्माणको सम्झौता अवधि तीन वर्षको रहेको कम्पनीले जनाएको छ ।

“काममा कुनै बाधा आएन भने निर्धारित समयमै पुल बन्छ, वर्षायाम पनि सकिन लाग्यो, अब कामले गति लिन्छ”, निर्माण कम्पनीका इञ्जिनीयर सुदर्शन देवकोटाले भने, “उपकरण र कामदार कार्यस्थलमा आइसकेका छन्, निर्माण सामग्री पनि ल्याउन सुरु गरिएको छ ।”

एसियाली विकास बैंकको आर्थिक सहयोगमा सडक विभागमार्फत उक्त पुल बन्न लागेको हो । भ्याटबाहेक रु ९४ करोडको ठेक्कामा पुल निर्माण हुन लागेको पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका प्रमुख राजेश पौडेलले बताए । “निर्माण कम्पनीले जगको काम थालेको छ, दसैँअघि संरचना निर्माणको काम सुरु हुन्छ”, उनले भने , “अहिले रहेको चाइना पुलको तलमाथि गरी आकर्षक बनावटका दुईवटा सिग्नेचर पुल बनेपछि छ लेनको सडक हुन्छ ।”

गण्डकी प्रदेशको राजधानी पोखरा छिर्ने मुख्य राजमार्गको उक्त पुल साँघुरो हुँदा सवारी जामको समस्या छ । सिग्नेचर पुल बनेपछि पर्यटकीय नगरी पोखराको आकर्षण पनि बढ्ने आयोजना प्रमुख पौडेलले बताउनुभयो । “पुरानो प्रविधिको भन्दा अहिले बनाउन लागि पुल डिजाइनका हिसाबले पनि आकर्षक छ, यसले पोखरा घुम्ने आउने पर्यटकलाई पनि आकर्षित गर्नेछ”, उनले भने , “दुई वर्षभित्रमै काम सक्ने लक्ष्य लिइएको छ, निर्माणमा कुनै बाधा अफ्टेरो परे आयोजना कार्यालयले सहजीकरण गर्छ ।”

एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने इञ्जिनीयर मनोज जिसीले बताए । उहाँले निर्माण सामग्रीको गुणस्तर परीक्षणको काम पनि अन्तिम चरणमा पुगेकाले अब पूर्वाधारको काम अगाडि बढाइने बताए । “विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको हो, देख्दा पनि यो पुल आकर्षक देखिन्छ, नेपालमा पछिल्लो समय बन्ने पुलमा बढीजसो यही प्रविधिको प्रयोग हुन थालेको छ”, इञ्जिनीयर जिसीले भने ।

एसियाली विकास बैंकको सहयोगमा पोखरा–मुग्लिन सडकलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । सोही आयोजनाअन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा सिग्नेचर पुल बनाउन लागिएको हो । कूल ८१ किमि दूरीको सो सडकलाई दुई खण्डमा बाँडेर विस्तारको काम भइरहेको हो ।

पश्चिम खण्डमा पोखरा–जामुने र पूर्वी खण्डमा जामुनेदेखि मुग्लिनसम्मको सडक पर्छ । विसं २०७८ वैशाखदेखि सडक विस्तार थालिए पनि कामको गति भने सुस्त छ । पूर्वी खण्डको निर्माण ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सन र पश्चिम खण्डको यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले लिएको छ ।