जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राहतका शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति, आन्दोलन फिर्ता

जन्मभुमि खबर ,
पोखरा ।

आन्दोलनरत राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति भएको छ । आज दिउँसो मन्त्रालयमा बसेको बैठकबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो । बैठकमा शिक्षामन्त्री अशाेक राई,  शिक्षाराज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश अधिकारी  सहभागी थिए ।

सरकारसँग सहमति भएसँगै आन्दोलनको कार्यक्रम स्थगित भएको छ । संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरको शिक्षकहरु आन्दोलित भएका थिए ।

देशभरका सामुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौंमा केन्द्रीत भएर गत बुधबारदेखि आन्दोलनमा उत्रेका थिए । शुक्रबार सरकारले आन्दोलनको आह्रान गर्ने नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित गरेको थियो ।

तर महासंघ र सरकारबीच भएको सहमतिमा असन्तुष्टि जनाउँदै राहतका शिक्षकहरुले आन्दोलन जारी राख्ने घोषणा गरेका थिए । उनीहरुले शनिबारदेखि माइतीघरमा आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका थिए ।

आन्दोलनकै क्रममा राहतका शिक्षक ,बालविकासका शिक्षकहरु घाइते समेत भएका थिए । सरकारले  आन्दाेलन जारी राखेकाे  एक सातापछि वार्ता  गरेकाे हाे ।