जन्मभुमि खबर ,
पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट बर्खास्त भएका पूर्वसांसद डा. ढाकाकमुार श्रेष्ठलाई अज्ञात समूहले धारित हतियार प्रयोग गरी घाइते बनाएको दुष्प्रचार गर्ने युवक पक्राउ परेका छन् ।
विद्युत्तीय कारोबार ऐन २०६३ विपरितको कसूर (साइबर अपराध) मा स्याङजाको आँधीखोला गाउँपालिका–५ ठूलीबराहाका ३५ वर्षीय सूर्यबहादुर रेग्मी पक्राउ परेका हुन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद तर विवादस्पद व्यक्ति डा. ढाकाकमुार श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडी धारिलो हतियार प्रयोग गरेको छ । उनलाई मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि लगिएइको छ । उनको अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी’ लेखेर रेग्मीले भदौ २२ गते फेसबुकमा फोटोसहित पोस्ट गरेका थिए ।
सुर्य रेग्मी नामको फेसबुकबाट उक्त स्टाटस पोस्ट भएपछि डा. श्रेष्ठले भदौ २३ गते नै जिल्ला प्रहरी कार्यालयमा अनर्गल प्रचारले भ्रम फैलाएकाले आवश्यक अनुसन्धान गरी कारबाहीको माग गर्दै निवेदन दिएका थिए ।
डा. श्रेष्ठले बुधबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पक्राउ परेका रेग्मीविरुद्ध विद्युत्तीय कारोबार ऐन २०६३ विपरितको कसूर (साइबर अपराध) मा अनुसन्धान पक्रिया अगाडि बढेको सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।