जन्मभुमि खबर,
पोखरा ।
मणिपाल अस्पतालमा बिरामी मृत्युको घटनापछि चिकित्सकमाथि हातपातको घटनाबारे स्थानीय प्रशासनको रोहबरमा भएको छलफल टुंगोमा पुग्न सकेन ।
सोमबार दिउँसो सुन्दरबजार नगरपालिका ६, लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारका क्रममा अस्पतालमा मृत्यु भएपछि उनका आफन्तले उपचारमा संलग्न चिकित्सक अनिल शाहमाथी गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय कास्कीको परिसरमा बसेको अस्पताल प्रशासन, मृतकका आफन्त र चिकित्सक संघ-संगठनका प्रतिनिधिबीचको दुई चरणको छलफल सहमतिविहीन भएपछि चिकित्सकको हड्ताल थप लम्बिने भएको छ ।
चिकित्सक र मृतकका आफन्तहरुले आ-आफ्नो मागमा अडान लिएपछि आज सहमति हुन नसकेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । छलफलमा चिकित्सकका संघ-संगठनले डाक्टर कुट्नेलाई कारबाही गर्नुपर्ने, प्रहरी दमनबारे छानबिन हुनुपर्ने, सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग राखेका छन् । यस्तै मृतकका आफन्तले उपचारमा संलग्न डाक्टरमाथि कारबाही हुनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र पक्राउ परेका विनय गुरुङको रिहा गर्नुपर्नेलगायत माग राखेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।
उनका अनुसार दुवै पक्षका प्रतिनिधि आन्तरिक छलफलका लागि भनेर गएको र आएपछि पुनः छलफल गरिने जनाए । आज (मंगलबार) स्थानीय प्रशासन, अस्पताल प्रशासन र चिकित्सक संगठनका प्रतिनिधिबीच पहिलो र दोस्रो चरणमा स्थानीय प्रशासनले मृतकका आफन्तसँग छलफल गरेको थियो ।
चिकित्सकमाथि हातपात भएपछि (मंगलबार) चिकित्सक संघ-संगठनले कास्की जिल्लाभरका अस्पतालमा हड्ताल गरेका छन् ।
चिकित्सकमाथि कुटपिट गर्नेलाई प्रहरीले सात दिन म्याद थप गराएर थुनामा राखेको छ ।
चिकित्सकमाथि कुटपिटको आरोपमा प्रहरीले पोखरा–५ मालेपाटनका ३४ वर्षीय विनय गुरुङलाई सोमबार नियन्त्रणमा लिएको थियो ।
गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधनसहित) अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले बताए ।
सोमबार अस्पतालमा उपचारको क्रममा लमजुङ सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएपछि उनका आफन्तहरूले चिकित्सकमाथि हातपात गरी अस्पताल तोडफोडसमेत गरेका थिए । बिरामीका आफन्तले बिनाकारण कुटपिट गरेको र प्रहरीले समेत चिकित्सकलाई नै धरपकड गरेको भन्दै मणिपालका आवासीय चिकित्सक र इन्टर्न सोमबारदेखि नै आन्दोलनमा छन् ।
पोखराभरका अस्पतालका आवासीय चिकित्सक र इन्टर्नले मंगलबारदेखि सेवा दिन बन्द गरेका छन् ।अस्पतालले मंगलबार नै विज्ञप्ति जारी गरी दोषीमाथि कडा कारबाहीको माग गरेको छ । आवासीय चिकित्सकको आन्दोलनपछि मणिपालमा भर्ना भएका मंगलबारदेखि घर फर्किन थालेका छन् ।