जन्मभुमि खबर ,
पोखरा ।
गत माघ १ गते पोखरामा भएको यती एयरको एटीआर ७२ विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । दुर्घटनाको अनुसन्धान गर्न गठित जाँच आयोगले निकालेको निष्कर्षमा विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको उल्लेख छ ।
दुर्घटनाको अनुसन्धान गर्न पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा गठित आयोगले आज (बिहीबार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ ।
दुर्घनाको विस्तृत कारण अहिले नै खुलाउन नमिल्ने भए पनि मानवीय त्रुटिका कारण दुर्घटना भएको आधार खुलेको आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।
आयोगले बुझाएको उक्त प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डबमोजिम जहाज निर्माण भएको देश फ्रान्स, इन्जिन बनेको देश क्यानडा र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) मा पठाइनेछ । त्यसपछि मात्रै प्रतिवेदन सार्वजनिक हुने जनाइएको छ ।