जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना पीडित सङ्घर्ष समितिले बुझायो मुख्यमन्त्री समक्ष ज्ञापनपत्र

जन्मभुमि खबर ,
पोखरा ।

पुष्पलाल मध्यपहाडी राजमार्गको पोखरा महानगरपालिका–१६ र १९ को रेखाङ्कन परिवर्तन गर्न माग राखी आन्दोलनरत पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना पीडित सङ्घर्ष समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष ज्ञापनपत्र पेस गरेको छ ।

पटकपटक आन्दोलन गर्दा पनि मागमा सुनुवाइ नभएको भन्दै मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण गराइएको समितिका अध्यक्ष गोविन्दबहादुर बस्नेतले जानकारी दिए ।

यसअघिको रेखाङ्कनअनुरुप काम सुरु भएमा पोखरा–१६ र १९ का करिब तीन सय घरधुरी प्रभावित हुने, महेन्द्र र चमेरे गुफा सङ्कटमा पर्ने तथा सरकारी र निजी विद्यालय नै मासिने ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा गलत रेखाङ्कन हटाउने काम गरी विकल्पको व्यवस्थापनतर्फ लगिएमा लामो समयदेखि अनाहकमा मानसिक पीडा खेप्दै सङ्र्घषरत स्थानीय पीडितहरूले न्याय पाउने र पीडा मुक्त हुने र यस क्षेत्रका विविध राष्ट्रिय सम्पदाको दिगो संरक्षणको सुनिश्चितता हुने भनिएको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले पीडितका मागप्रति आफू सकारात्मक रहेको बताउँदै मागका विषयमा केन्द्र सरकारसँग कुरा राख्ने बताए । प्रदेश सरकारले यस विषयमा निर्णय गर्न नमिल्ने स्पष्ट पार्दै उनले जनतालाई समस्या पार्ने गरी कुनै काम गर्न नहुने बताए ।