जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराकी सञ्चारकर्मी एलिजाको निधन

जन्मभुमि खबर ,
पोखरा ।

पोखराकी सञ्चारकर्मी रोशनी क्षत्री (एलिजा) को निधन भएको छ । सोमबार बिहान पोखराको न्युरोड नजिकै घर परिसरमा जलिरहेको अवस्थामा भेटिएकी उनको उपचारका क्रममा मंगलबार निधन भएको हो ।

घटनालगत्तै उद्धार गरेर उनलाई गण्डकी मेडिकल कलेजमा लगेर उपचार थालिएको थियो । सोमबारै हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइ पनि मौसमको खराबीका कारण सम्भव भएको थिएन । अवस्था जटिल हुँदै गएपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो ।

मंगलबार पौने १ बजेतरि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । एलिजाको मंगलबार नै पोस्टमार्टम गरी परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।
घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०५५ मा पोखराकै भलाममा जन्मेकी उनी विगत ७ वर्षदेखि सञ्चारकर्ममा थिइन् । माछापुच्छ्रे एफएमबाट काम थालेकी उनले परिचय डटकम, अन्नपूर्ण एफएममा काम गरेकी थिइन् । हाल उनी पत्रकारितामा स्नातकोत्तर गर्दै थिइन् । उनको १४ महिना पहिला बिहे भएको थियो ।

उनी चलचित्र पत्रकार संघ कास्कीको कार्यसमिति सदस्य हुन् । चलचित्र पत्रकार संघ कास्कीले मंगलबार नै विज्ञप्ति निकालेर कार्यसमिति सदस्य क्षत्रीको निधनले मर्माहत र स्तब्ध भएको जनाएको छ । अध्यक्ष प्रभु अधिकारी र सचिव सन्तोष बस्यालले विज्ञप्ति जारी गरी कार्यसमिति सदस्य भएर संस्थाप्रति पुर्‍याएको योगदानको प्रशंसा गर्दै संघले स्मरण गरिरहने उल्लेख गरेका छन् ।