जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

‘सीआईबी’ ले पायो एक क्विन्टल सुन तस्करीको अनुसन्धान जिम्मा

जन्मभुमि खबर ,
पोखरा ।

सरकारले एक क्विन्टल सुन तस्करीको अनुसन्धानको जिम्मा प्रहरीलाई दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुन तस्करीको अनुसन्धान प्रहरीबाट गर्न निर्देशन दिएका हुन् ।

बिहीबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूणर्बहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी किरण बज्राचार्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानासँग संयुक्त छलफल गरेका थिए । त्यसअवसरमा प्रधानमन्त्री दाहालले सुन तस्करीको थप अनुसन्धान प्रहरीबाट गर्न निर्देशन दिएका हुन् ।

सुन तस्करी प्रकरण संगठित अपराध र अन्तदेशीय अपराध तथा आतंकवादी गतिविधिमा संलग्न गिरोहकोसमेत संलग्नता हुनसक्ने देखिएकाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत अनुसन्धान हुनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । हाल यो प्रकरणमा राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ । सुन तस्करी प्रकरणको जरैसम्म पुग्न सीआईबीमार्फत अनुसन्धान गर्नु पर्ने निष्कर्षमा सरकार पुगेको स्रोतको भनाइ छ ।

राजस्व अनुसन्धान विभागले हालसम्म भएको अनुसन्धानको सम्पूर्ण कागजात हस्तान्तरण गरेपछि आजैदेखि अनुसन्धानको थप प्रक्रिया अगाडि बढ्ने सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । उनले भनिन्, ‘अनुसन्धानको कागजात प्राप्त भएपछि आजैदेखि थप अनुसन्धान अगाडि बढ्छ ।’

स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको एक क्विन्टल सुन गत साउन २ मा विमानस्थल भन्सार जाँचपास भई बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको थियो । ब्रेक सु भित्र लुकाएर ल्याइएको सुनसहित विभागको टोलीले दुई जनालाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा हालसम्म १८ जना पक्राउ परिसकेका छन् । तर अझै सुन तस्करीमा सलंग्न मुख्य अभियुक्त भने पक्राउ परेका छैनन् ।

हङकङबाट हवाई जहाजमा कार्गो गरी ल्याइएको उक्त सुन प्रकरणमा नेपालीसँगै चिनियाँ, भारतीय र बेल्जियन नागरिकसमेत पक्राउ परेका छन् । यस प्रकरणमा पछिल्लो पटक पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङको उपल्लो तहका माओवादी नेताहरुसँग उठबस रहेको खुलिसकेको छ । उनले काभ्रेबाट नागरिकता र राहदानी बनाएको तथ्य पनि खुलेको छ ।

यो सुन हङकङ, चीन, दुबई र भारतमा रहेको गिरोहले नेपाललाई ट्रान्जिट बनाएर ल्याएको र यसको गन्तव्य भारतीय बजार रहेको तथ्य विभागले गरेको अनुसन्धानमा भेटिएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि अब यो प्रकरणको अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाउनेछ । ब्युरो प्रमुख किरण वज्राचार्यले कागजात प्राप्त भएपछि अनुसन्धानलाई तीव्रता दिने जनाइन् ।