जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सातवटै प्रदेशमा वर्षाको सम्भावना

जन्मभुमि खबर ,
पोखरा ।

देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहँदा कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । गण्डकी,कोसी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोसी प्रदेशको तराईका भू–भाग र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोसी प्रदेशको तराईका भू–भाग र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

गण्डकी र वाग्मती प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको सम्भावना रहेको छ । हावाहुरीजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।