जन्मभुमि खबर ,
पोखरा ।
पोखरा लेडी जेसीजको आयोजनामा जारी जेसीज सप्ताह अन्र्तगत शनिबार निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
पोखरा–१८ स्थित बाल सुधार गृहमा आयोजना गरिएको शिविरको छाला तथा यौन रोग विशेषज्ञ डा रमेश शर्माले उद्घाटन गरे ।
उनले संस्थाले सञ्चालन गरेको सप्ताहको सफलताको कामना व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहकार्य गर्दै अगाडी बढ्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बालसुधार गृहका कानून अधिकृत विश्वेश्वर ढकाल, ईञ्चार्ज अजय थापा, पोखरा लेडी जेसीजका वर्ष २०१५ की अध्यक्ष जोर्जिना भट्टराई लगायले संस्थाको बारेमा बोल्दै बलसुधार गृहमा आएर स्वास्थ्य शिविर गरेकोमा आभार व्यक्त गरे । साथै आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रमहरुलाई उनीहरुको आग्रह गरे ।
सुधार गृह र स्थानिय समुदायलाई लक्षित गरि सञ्चालन गरिएको शिविरमा ८६ जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै आवश्यक औषधी निःशूल्क वितरण गरिएको कार्यक्रम संयोजक विनिता केसीले जानकारी दिइन् ।
कार्यक्रमको बारेमा संस्थाकी कार्यकारिणी उपाध्यक्ष एवं जेसीज सप्ताह मूल संयोजक प्रमिला सुवेदीले प्रकाश पारेकी थिइन् । उनका अनुसार सप्ताह अन्र्तगत तेश्रो दिन भोलि पोखरा–२६ स्थित भवानी कालिका मा.वि. विजयपुरमा स्टेश्नरी तथा अन्य शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।
सप्ताहको पहिलो दिन शुक्रबार साइबर व्यूरो सम्बन्धी तालिम सम्पन्न भइसकेको उनले जानकारी दिइन् । संस्थाले हरेक दिन छुट्टै कार्यक्रमसहितको तालिका सार्वजनिक गरेको सुवेदीले बताइन् । उनका अनुसार सप्ताह यही साउन ३२ गतेसम्म सञ्चालन हुनेछ ।
संस्थाका अध्यक्ष लक्ष्मी कुँवर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक विनिता केसी, आस्था पाठ करुण पाण्डे र सञ्चालन सचिव अनिता थापाले गरेकी थिइन् ।