जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिकाले नेपाल सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तरगत थप २ वटा परियोजनाहरू छनौट गरेको छ ।
वर्ल्ड बैङ्कको सहयोगमा सम्पन्न गर्ने गरी बिरौटा–पुडिँटार लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुँदिखोला–गगन गौडा सडक स्तरोन्नतिका लागि परियोजना छनौट गरेको हो ।
यही श्रावण १४ गते बसेको कार्यपालिका बैठकले सन २०२६ मार्च ५ भित्र सम्पन्न गर्ने गरी थप दुई वटा परियोजनाहरू छनौट गरिएको प्रमुख धनराज आचार्यले बताए । । “वर्ल्ड बैङ्कको सहयोगमा हाल तालचोक–बेगनास सडक स्तरोन्नतिको काम भइरहेको छ, प्रमुख आचार्यले भने, यस बाहेक थप दुई वटा महत्त्वपूर्ण परियोजनाहरू छनौट गरेका छौँ । यी सबै परियोजना २.५ वर्ष भित्र सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको छ ।” प्रमुख आचार्यका अनुसार यी परियोजना सम्पन्न पश्चात् नमुना सडक बन्नेछन् ।
यी सबै परियोजनाहरूमा वर्ल्ड बैङ्कले २५.६८ मिलियन अमेरिकी डलर (३ अरब ३७ करोड ९३ लाख १० हजार ८०८ नेपाली रुपैयाँ) लगानी गर्नेछ । निर्माणाधीन तालचोक–बेगनास सडकमा ७५ करोड ४८ लाख ६७ हजार ८७३ रुपैयाँ, बिरौटा–पुडिटार सडक रु.१.५ अर्ब र लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुँदिखोला–गगन गौडा सडक रु.१ अर्ब लागतमा स्तरोन्नति हुनेछ । तालचोक–बेगनास सडक स्वच्छन्द–सपना–वल्र्डवाइड जे भी काठमाण्डौले निर्माणको ठेक्का पाएको छ ।
अन्य दुई वटा परियोजना सर्भेका लागि वर्ल्ड बैङ्कको प्राविधिक टोली खटिने तयारीमा रहेको छ । पाँच वर्षभित्र सम्पन्न गर्ने गरी सन २०२१ मार्च ५ तारिकमा सम्झौता भएको थियो ।