जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रविले चितवनमा सुरु गरे महिलाहरुका लागि नि:शुल्क ‘ब्लु बस’

जन्मभुमि खबर ,

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ स्थित महिलाहरुका लागि  नि:शुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएका छन्।

गत वैशाख १० गतेको उपनिर्वाचनबाट विजयी भएको १०० दिन पुगको अवसरमा उनले  नि:शुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएका हुन्।

उनले भरतपुर महानगरपालिकाको बाइपासस्थित पार्टीको सचिवालयबाट बस चढेर उक्त सेवाको सुरुवात गरेका हुन्।

ब्लु बस नाम राखिएको बस निर्वाचन क्षेत्र नम्वर २ का विभिन्न रुटमा चल्नेछ । पहिलो चरणमा पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड वितरण गरिने रवि लामिछानेको सचिवालयले जनाएको छ ।

‘ब्लु बस’भित्र महिलाका लागि आवश्यक स्यानिटरी प्याडसहितका सामाग्री राखिएको लामिछानेले बताए।

बसमा गुनासो सुन्न मिल्ने गरी ‘रविलाई पत्र’नामको बक्ससमेत राखिएको उनले बताए। यो बस विभिन्न माध्यमबाट आर्थिक स्रोत जुटाएर सञ्चालन गरिएको लामिछानेले बताए।

यो बस सेवा प्रभावकारी बनेमा थप विस्तार गर्दै जाने उनले बताए।

त्यसक्रममा रविले  विभिन्न कार्यक्रम पनि घोषणा गरेका छन्। भरतपुरमा सचिवालय स्थापना गर्दै उनले विभिन्न ११ कार्यक्रम घोषणा गरेका हुन्।