जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा गोलभेंडामो मूल्य अहिलेसम्मकै उच्च

जन्मभुमि खबर ,
पोखरा ।

उचित मूल्य नपाएको भन्दै असार पहिलो साता किसानले काठमाडौंको सडकमै गोलभेंडा फ्याके ।

त्यो बेला प्रतिकिलो १० रुपैयाँमा पनि गोलभेंडा बिक्री नभएको भन्दै किसानले राजधानीमा सडकमा गोलभेंडा फ्याकेका थिए। राजधानीमा सडकमा गोलभेंडा फ्याकिरहँदा पोखरामा भने त्यो बेला गोलभेंडाको खुद्रा मूल्य प्रतिकिलो ७० रुपैयाँ पर्दथ्यो ।

खुद्रा मूल्यमा उतारचढाव हुँदै आउँदा दुई साता अघिसम्म पनि पोखरामा गोलभेंडाको खुद्रा मूल्य प्रतिकिलो १ सय रुपैयाँ हाराहारीमा थियो। तर, अहिले भने एकाएक गोलभेंडाको मूल्य अकाशिएको छ ।

बजारमा अहिले गोलभेंडाको खुद्रा मूल्य प्रतिकिलो १ सय ८० रुपैयाँसम्म उक्लेको छ। व्यावसायिका अनुसार एक साता अघिसम्म पनि पोखरामा गोलभेंडाको मूल्य करिब १ सय १० रुपैयाँ हाराहारीमा थियो ।

‘एक साताको अवधिमा गोलभेंडाको मूल्य प्रतिकिलो एकाएक बढेर १ सय ८० रुपैयाँ हाराहारी पुगेको छ,’ पोखरा थोक तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेल भन्छन्, ‘एकाएक मूल्य अकाशिएको छ। एक सातामै गोलभेंडाको मूल्य निकै नै बढेको छ। यो मूल्य अझै केही दिन बढ्ने सम्भावना छ ।’

उनका अनुसार यो बेला भारतमा गोलभेंडा उत्पादन कम भएको छ। उत्पादन घटेपछि कतिपय नेपाली किसानले यहाँ उत्पादिन गोलभेंडा बढी मूल्य पाउने लोभमा भारत निर्यात गरेका छन्। त्यसले गर्दा स्वदेशमा अभाव भएर अहिले मूल्य बढेको हो ।