जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको पत्रकार महासंघ शुद्धीकरणमा उच्च अदालतको कारण देखाऊ आदेश

जन्मभुमि खबर ,
पोखरा ।

‘महासंघको नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरणमा नेपाल पत्रकार महासंघ कास्कीको विषय उच्च अदालत पोखरामा पुगेको छ ।

मापदण्ड-२०८०’ सन्दर्भमा जिल्ला र प्रदेशले गरेको निर्णय खारेजको माग गर्दै महासंघ सदस्य ईश्वरी पौडेलले मंगलबार पत्रकार महासंघ कास्की शाखा र सोको कार्यसमितिविरुद्ध उच्च अदालत पोखरामा रिट दायर गरेकी हुन् ।

उक्त रिटमा उच्च अदालत कास्कीले नेपाल पत्रकार महासंघ कास्की शाखालाई कारण देखाउ आदेश जारी गरेको हो । अदालतका न्यायाधीश उज्ज्वल शुक्लाको एकल इजलासले बुधबार कारण देखाउ आदेश जारी गरेको हो ।

निवेदकतर्फबाट अधिवक्ता इश्वरी पौडेल, गेज शर्मा वाग्ले, राधा शर्मा पौडेल र लुमचन्द्र रेग्मीले बहस गरेका थिए । साउन २२ गते अन्तरिम आदेश जारी हुने वा नहुनेबारे दुवै पक्षलाई छलफलका लागि पेसी तोकिएको छ । अदालतले अन्तरिम आदेश जारी हुनु नपर्ने भए कारण र प्रमाणसहित म्याद सूचना तामेल भएको १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको छ ।

पत्रकार महासंघ कास्कीमा ३ सय ८ जना सदस्य थिए । पत्रकार महासंघ कास्कीले शुद्धीकरणको मापदण्डभित्र पर्ने भन्दै २ सय १६ जनाको नाम सिफारिस गरेको हो । प्रदेश समितिले समेत जिल्लाको सिफारिसमा परेका नामलाई थपघट गर्दै १ सय ८४ जनाको नाम केन्द्रमा सिफारिस गरिसकेको छ ।