जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज गुरु पूर्णिमा

जन्मभुमि खबर ,
पोखरा ।

असार शुक्ल पूर्णिमाका दिन आज (सोमबार) गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।

गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु मानिन्छ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तिलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हिन्दू शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ। यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ-
गुरुर्ब्रह्मा  गुरुर्विष्णु  गुरुर्देवो  महेश्वर: ।
गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम: ।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ। गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्छन्।