मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटना, पाँचजनाको शव भेटियो
जन्मभुमि खबर ,
पोखरा ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ ।
बिहान ९ : ५२ मा सुर्केबाट उडेको मनाङ एयरको नाइन एन – एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका-५ भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिइन् । ‘च्यानडाँडामा चौरी गोठालाहरुले हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन् । ६ जना चढेका रहेछन्,’ कार्कीले भनिन् ।
क्याप्टेन चेत गुरुङले हेलिकोप्टर उडाएका थिए । हेलिकोप्टरमा क्याप्टेनबाहेक ५ जना विदेशी रहेको लुक्ला विमानस्थलका एटीसी अफिसर सागर कँडेलले जानकारी दिए ।
हेलिकोप्टर लामजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर कँडेलले जनाए ।
दुर्घटनामा मृत्यु भएका पाँचजनाको शव भेटिएको छ । थप एकजनाको खोजी भइरहेको घटनास्थल पुगेका प्रहरी नायब निरीक्षक नीराजन बस्नेतले जानकारी दिए ।
दुर्घटनामा मृत्यु भएकाहरुलाई कानुनी प्रक्रिया पूरा गरी काठमाडौं पठाउने तयारी रहेको पनि बस्नेतले जानकारी दिए । उनले यसका लागि काठमाडौंबाट एउटा हेलिकोप्टर घटनास्थलमा आइपुगेको पनि जानकारी दिए ।