जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरले भोलि सोमबार मापदण्ड विपरीत संरचनामा भोलि डोजर लगाउँदै

जन्मभूमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकाले सिद्धार्थ राजमार्गअन्तर्गत पोखराको पृथ्वीचोक–चाउथे–विजयपुर खोला पुलसम्म सडक मापदण्ड विपरीत बनेका संरचनामा डोजर लगाउने भएको छ ।

महानगरपालिकाले सोमबार बिहान ८ बजे त्यसरी मापदण्डविपरीतका  संरचना तथा सामग्रीहरू हटाउने र सरसफाइ गर्ने भएको हो ।

सडक ऐन, २०३१ ले राजमार्गबाट दायाँबायाँ २५–२५ मिटर सडक मापदण्ड निर्धारण गरेको छ । त्यो मापदण्ड पालना नगरेका कुनै संरचना रहे त्यसलाई डोजर नै लगाएर भत्काइने महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले बताए । ‘त्यो क्षेत्रमा हेभी इक्विपमेन्टसम्बन्धी सामन धेरै जथाभावी हुन्छन् । त्यसलाई हटाउने हो । मापदण्डभित्र संरचना छ भने डोजर पनि लाग्छ,’ उनले भने ।

महानगर एक्सनमा उत्रन लागेको क्षेत्र ४.७ किलोमिटर लामो छ । राजमार्गसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोडिएको छ । विमानस्थल गेटबाहिर नै वर्कसप, हेभी इक्विप्मेन्ट सेन्टर, जथाभावी फोहोरले कुरुप भएपछि महानगरले सफाइ अभियान अघि सारेको हो ।