जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एसईईको नतिजा यसै साताभित्र निकाल्ने तयारी, ग्रेडिङ पुरानै प्रणालीमा हुने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यही साता निकाल्ने तयारी गरेको छ । त्यसका लागि अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारले जानकारी दिए ।

“बुधबारसम्म नतिजा प्रकाशित गर्ने गरी काम भइरहेको छ । अन्तिम चरणका केही काम बाँकी छन्, ती काम सकिएलगत्तै बोर्ड बैठक बसी नतिजा सार्वजनिक गरिन्छ,” गोदारले भने ।

यस वर्षको नतिजामा बोर्डल पुरानै ग्रेडिङ प्रणालीअनुसार ग्रेड छुट्याउने भएको छ । यस वर्ष एसईई दिएका विद्यार्थीले पुरानै पाठ्यक्रम अनुसार पढेकाले नयाँ पाठ्यक्रम अनुसार पढाइ हुन थालेपछि मात्रै नयाँ ग्रेडिङ लागु गर्ने तयारी भएको गोदारले बताए । ग्रेडिङबारे बोर्डले अन्तिम निर्णय गर्न भने बाँकी छ ।

सरकारले गत वर्षको एसईई नतिजामा नै लागु गर्ने गरी ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ तयार पारेको थियो । निर्देशिका अनुसार विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ ।

तर, गत वर्ष कोरोना महामारीको असरका कारण पठनपाठन सहज नभएको र विद्यार्थीमा मार पर्ने भन्दै बोर्डले पुरानै ग्रेडिङ प्रणालीअनुसार नतिजा निकालेको थियो ।

०७९ चैत १७ गतेदेखि भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।