पोखराको मासु पसललाई व्यवस्थित गरिँदै, मापदण्ड विपरीतका फ्रेस हाउस बन्द गरिने
जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिकाले मासु पसललाई व्यवस्थित गर्न सुरुआत गरेको छ ।
महानगरले मासु पसल सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका पसललाई एकै प्रकारका बोर्ड तथा व्यवसाय परिचयपत्र वितरण गरेको हो । महानगरको पशु सेवा शाखाले आइतबार आयोजना गरेको कार्यक्रममा महानगरप्रमुख प्रमुख धनराज आचार्यले व्यवसायीलाई परिचयपत्र प्रदान गर्नुभएको हो ।
पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले पशुबध तथा मासु जाँच ऐन २०५५, नियमावली २०५७ तथा महानगरको मासु जाँच निर्देशिकाअनुसारको मापदण्ड पालना गरेका ७४ पसललाई परिचपत्र र बोर्ड प्रदान गरिएको बताउनु भयो । उहाँका अनुसार महानगर क्षेत्रमा करिब छ सयको हाराहारीमा ठूला तथा साना मासु व्यवसायी छन् ।
महानगरले पसलको एकरुपताका लागि सबै पसललाई एकै आकार र बनोटको बोर्ड हस्तान्तरण गरेको छ । महानगर प्रमुख आचार्यले पोखरामा अब मापदण्ड विपरीतका फ्रेस हाउस बन्द गरिने बताउनुभयो । महानगरबाट अनुमति प्राप्त गरेको पसल हो भनेर चिनाउने गरी बोर्ड प्रदान गरिएकाले मान्यता प्राप्त पसलबाट मात्र मासु खरिद गर्न उहाँले उपभोक्तालाई आग्रहसमेत गर्नुभयो ।
महानगर प्रमुख आचार्यले भन्नुभयो, “अब केही समयपछि महानगरको बोर्ड नभएको पसलमा मासु खरिद विक्री नगर्नका हामी सार्वजनिक सूचना जारी गर्नेछौँ, महानगरबाट मान्यता प्राप्त गरेको र व्यवस्थित पसलमा स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउनुपर्दछ ।” उहाँले महानगरले पोखरामा व्यवस्थित र सुविधासम्पन्न पशुबधशाला स्थापनाका लागि काम अघि बढाएको जानकारी दिनुभयो ।
महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले स्वच्छ र सफा मासु खान पाउनु उपभोक्ताको अधिकार भएको बताउनुभयो । उहाँले मापदण्ड पालना नगरेका अन्य पसललाई समेत पूरा गरेर महानगरमा दर्ता भएर परिचपत्र लिन आग्रह गर्नुभयो । पशु सेवा शाखा प्रमुख अधिकारीले मासु पसललाई बोर्ड र व्यावसायिक परिचपत्र वितरणको काम नेपालमै पहिलोपटक सुरु भएको बताउनुभयो । मापदण्ड पूरा नभएका पसल केही दिनको समय दिएर बन्द गराइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “महागनरले मापदण्डविपरीतलाई बन्द गरेर पालना भएकालाई मात्र सञ्चालन गर्नेछ । बाँकी पसलसमेत केही समयपछि मापदण्ड पालनामा आउने विश्वास लिएका छौँ ।”
यसैगरी महानगरले विभिन्न पाँच विधाका उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गरेको छ । गाई, भँैसी, कुखुरा, बँगुर र बाख्रा पालनमा उत्कृष्ट कृषकलाई जनही रु १० हजारसहित पुरस्कृत गरिएको महानगरले जनाएको छ । उत्कृष्ट कृषक सम्मान प्राप्त गर्नेमा पोखरा १५ का भैँसीपालक कृषक दीपक तिमिल्सिना, पोखरा–२५ का गाईपालक कृषक घनश्याम तिमिल्सिना, पोखरा–१७ का कुखुरापालक कृषक चन्द्रकान्त बराल, पोखरा–२० का बाख्रापालक कृषक दुर्गाबहादुर गुरुङ र पोखरा–१९ का बङ्गुरपालक कृषक सरस्वती बस्ताकोटी हुनुहुन्छ ।
त्यसैगरी लामो समय कृषि तथा पशुपालनमा लागेकालाई ज्येष्ठ प्रवद्र्धक कृषकको सम्मान प्रदान गरिएको छ । महानगरले पाडीबाच्छी आफैँ हुर्काएर माउ बनाउने पाँच सय कृषकलाई रु तीन हजार र एक हजार पाडीबाच्छी हुकाउनेलाई रु चार हजारका दरले अनुदान उपलब्ध गराइएको छ । महानगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिलाई रु आठ हजारका दरले ५० जनालाई बाख्रा खरिदका लागि अनुदानसमेत प्रदान गरिएको छ ।