जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विवाह गरेको २ महिना नपुग्दै श्रीमतीको हत्या

जन्मभुमि खबर ,
पोखरा ।

श्रीमतीले दुई वटा सिम चलाएको निहुँमा हत्या गरेको आरोपमा भानु नगरपालिका–५ मैबल हटियाका २१ वर्षीय मनोज विष्ट पक्राउ परेका छन्।

तनहुँको व्यास नगरपालिका ४ स्थित चिहानडाँडामा कच्ची सडक नजिकै उनको श्रीमतीको शव फेला परेपछि तनहुँ प्रहरीले उनलाई पक्राउ गरेको हो।

बुधवार पत्रकार सम्मेलन गर्दै प्रहरीले विष्टलाई सार्वजनिक गरेको थियो।

मृतक युवती व्यास नगरपालिका–१२ लामिडाँडाकी २२ वर्षीया रंगिला भुजेल रहेको प्रहरीले बताएको छ।

एसपी अवदेश विष्टका अनुसार रंगिलाका बुबा मनबहादुर भुजेलले मङ्गलवार तनहुँ प्रहरीमा रंगिलाको तस्बिरसहित हराएको निवेदन दिएका थिए।

निवेदनमा २०८० जेठ २४ गतेदेखि छोरी सम्पर्कविहीन भएको उल्लेख थियो।
प्रहरीले शव फेला पारेपछि
रंगिलाका श्रीमान्‌लाई मङ्गलवार राति पक्राउ गरेको थियो।

मनोजविरुद्ध प्रहरीले जिल्ला अदालत तनहुँबाट कर्तव्य ज्यान मुद्दामा ५ दिन न्यायिक हिरासतमा राख्ने अनुमति पाएको छ।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार मनोज र मृतक रंगिलाविच सामाजिक सञ्जालमार्फत परिचय भएर विवाह भएको थियो। उनीहरूले २०८० वैशाख १ गते विवाह गरेका थिए।

मृतक रंगिलाले दुई वटा सिम प्रयोग गर्ने गरेको र सोही कारण श्रीमान्‌-श्रीमतीबीच मनमुटाब भएकाले हत्या भएको प्रहरीको प्रारम्भिक शङ्का देखियो।

मनोजले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी विष्टले बताए।