जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विपद्का घटनामा १० जनाको मृत्यु, २६ जना बेपत्ता

विपद्का घटनाबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ । यस वर्ष मनसुन सुरु भएसँगै विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको हो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिए । त्यस्तै, ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको उनले बताए । असार २ गते रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी असर परेको बताए ।

गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए । उनले प्रभावित घरधुरीलाई पनि सोही मापदण्डअनुरुप तत्काल पुनःस्थापनाका लागि रकम उपलब्ध गराइने बताए ।

उनले राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारले स्थानीय तहलगायत सरोकारवाला निकाय सबैसँग समन्वय गरी काम गरिरहेको बताए ।