जन्मभुमि खबर ,
पोखरा ।
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।
यस्ता शुभकाममा निस्कनुअघि रातो टीकासँगै सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ ।
आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाइएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत्रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा दही चिउरा खाने पर्वका साथै राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।
कहिलेदेखि मनाउन थालियो धान दिवस ?
२०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।
असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ । औपचारिक रूपमा सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नुअघि नै नेपालमा असार १५ गते दही चिउरा खाने संस्कृति प्राचीनकालदेखि नै रही आएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।
यसैविच आज कास्कीका विभिन्न ठाउँमा रोपाईँ तथा हिले महोत्सव हुने भएका छन् । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा १३ कसेरीमा १८ औं असारे रोपाईँ महोत्सव हुदैछ । महोत्सवका मुख्य आकर्षणमा असारे गित र धान रोपाईँ प्रतियोगिता, पर्यटक, पत्रकार तथा महिलाका लागि हिले दौड, माछा समाउने प्रतियोगिता लगायतका रहेका छन् ।
यसै गरी पोखरा २५ हेमजामा तेस्रो हेमजा हिले महोत्सव हुदैछ । स्थानिय देवीस्थान टोलमा हुने महोत्सवमा उत्कृष्ट किसान सम्मान सहित हिले फुटवल, टिकटक प्रतियोगिता, महिला/पुरुष हिले दौड, महिला/पुरुष रसि तान्ने, घैंटो फुटाउने, धान रोप्ने, हल गोरु दौड, हिले नाच, माछा छोप्ने, भाले समाउने, असारे गीत, झाँकी लगायतका प्रतियोगिता समावेश गरिएको छ ।
‘कृषिमा कृषकलाई प्रोत्साहन:
विष्णुपादुका माई मन्दिर हेमजाको शान’ नाराका साथ हुने महोत्सवले विष्णुपादुका मन्दिरमा आन्तरिक र बाह्य पर्यटकको आगमन पनि बढ्नुका साथै हेमजालाई कृषिको भूमिको रुपमा चिनाउन सहयोग पुग्ने आफूहरुको विश्वास रहेको विष्णुपादुका देवीस्थान टोल विकास संस्थाका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा खेलअनुसार प्रथम र द्धितिय स्थान हासिल गर्ने सहभागि व्यक्ति / टिमलाई पुरस्कारको व्यवस्था रहेको छ ।
यस्तै कास्कीकोे माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकमा प्रथम हिले महोत्सव हुदैछ । माछापुच्छ्रे त्रिशक्ति युनाईडेड क्लवको आयोजनामा हुने महोत्सवमा हल गोरु दौड प्रतियोगिता, महिला तथा पुरुष हिले दौड प्रतियोगिता, रस्साकस्सा प्रतियोगिता, धान रोप्ने प्रतियोगिता, माछा समात्ने प्रतियोगिता, हिलोमा नृत्य प्रतियोगिता लगायतका प्रतियोगिताहरु समावेश गरिएको छ ।
यस बाहेक जिल्लाका विभिन्न ठाउँमा रोपाईँ तथा हिले महोत्सव आयोजना गरिएका छन् ।