जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राहदानी विभागका नासु अनुप पोखरा बेगनास तालमा मृत फेला

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा बेगनास तालमा एक युवक मृत भेटिएका छन् । विराटनगर राजवंशी चोकका ३१ वर्षीय अनुप भण्डारी डुबेको अवस्थामा मृत भेटिएका हुन् । उनी परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा नासुमा कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकका अनुसार सोमबार बिहान बेगनास तालमा भण्डारीको शव भेटिएको हो ।

‘तालको छेउको पानीमा घोप्टो परेका अवस्था मृत फेला परेका हुन्, घटनास्थल मुचुल्का कार्य भएर अनुसन्धान कार्य भइरहेको छ,’ उनले नेपाल प्रेससँग भने, ‘बेगनास तालको डुंगा घाटभन्दा ४/५ सय मिटर पर तालमा मृत भेटियो । झोला छ, झोलामा मोबाइल र १०/१२ हजार पैसा रहेछ । औषधि पनि रहेछ, चप्पल छ, छाता छ ।’

शव पोष्टमार्टमका लागि गण्डकी अस्पताल पठाइएको इप्रका डाँडाकोनाकले जनाएको छ ।

भण्डारी आइतबार बिहान १० बजे अफिस जान भनेर हिँडेका थिए । काठमाडौं काँडाघारीमा डेरामा बस्दै आएका उनी बिहान साढे ९ बजे अफिसका लागि निस्किएको र दिउँसो २ बजे पोखरा आफू पोखरा घुम्न आएकोले कोठा राम्ररी बन्द गर्दिनू भनेर घरबेटीलाई फोन गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनी दिउँसो १ बजेको सौर्य एयरको फ्लाइटमा काठमाडौंबाट पोखरा आएका थिए ।

भण्डारी आफैँ तालमा फाल हानेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटना हिजैको भएको प्रहरीले बताएको छ । तर, स्थानीयले शव तैरिरहेको देखेर आज बिहान खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको र विराटनगरमा आफन्तलाई खबर गरिएको डाँडाकोनाकका इन्सपेक्टरले बताए ।