जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

वर्षाका कारण राेकिएकाे बाँकी खेल आजकै स्थितिबाट भोलि हुने 

एसीसी प्रिमियर कप प्रतियोगिताको फाइनल खेल सोमबार कीर्तिपुर मैदानमा नेपाल र यूएईबीच जारी रहँदा वर्षा भएपछि राकियो । आज फेरि खेल हुन नसकेपछि रिजर्भ डेको व्यवस्था भएकाले भोलि आजकै अवस्थाबाट खेल सुरु हुने भएको छ ।

आज वर्षाले खेल रोकिनुअघि यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १०६ रन बनाएको छ । भोलि बिहान नौ बजे यही अवस्थाबाट खेल सुरु हुनेछ । नेपालका बलर ललितनारायण राजवंशीले २८ औँ ओभरमा लगातार दुई विकेट लिएपछि खेल रोकिएको थियो । अब उनले भोलि २८ औँ ओभरका बाँकी बल फ्याँक्नेछन् । स्ट्राइक लिन यूएईका नयाँ ब्याटर जनैद सिद्दिकी आउनेछन् । अर्को इन्डमा यूएईका कार्तिक मयप्पन छन् ।

सोमबार नेपालका कप्तान रोहित पौडेलले टस जितेर यूएईलाई पहिला ब्याटिङको निम्तो दिएका थिए । रोहितको यो निर्णय सही सावित गर्दै नेपाली बलरले घातक बलिङ गरे । यूएईले कप्तान मोहम्मद वसिमको रुपमा पहिलो विकेट १७ रन बनाउँदा चौथो ओभरको पहिलो बलमा गुमाएको थियो । सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए ।

त्यसपछि २८ रनको स्कोटरमा वित्र्य अरविन्दको विकेट करण केसीले लिए । ३५ रनको स्कोटरमा करणले दोस्रो विकटका रुपमा आर्यन लाक्रालाई आउट गरे भने सोही स्कोरमा सन्दीप लामिछानेले रमिज शहजादको विकेट लिए ।

यस्तै ५१ को स्कोरमा ललितनारायण राजवंशीले रोहन मुस्ताफालाई आउट गरे भने ९० को स्कोरमा बसिल हमिदको विकेट गुल्सन झाले लिए । यसपछि १०३ रनको स्कोटरमा सन्दीपले आयन अफ्जल खानलाई आउट गर्दा १०६ को स्कोरमा ललितनारायणले पहिला आसिफ खान र पछि जहुल खानको विकेट लगातार लिए । जहुर खानको विकेट लिएपछि खेल वर्षाका कारण रोकियो ।

यूएईका लागि आसिफ खानले सर्वाधिक ५४ बलमा ४६ रन बनाए ।

भोलि पनि नियमित खेल हुन नसके सुरुमा डीएलएस मेथडअनुसार ओभर घटाएर खेला अगाडि बढाइनेछ । यो मेथड लागू हुन दुवै टिमले कम्तीमा २०–२० ओभर खेल्नुपर्छ । आज यूएईले २७ ओभर ३ बल खेलिसकेको छ । भोलि अपराह्न ४ बजेर ४० मनेटसम्म नेपालले २० ओभर खेल्ने समय बाँकी रहे डीएसएस मेथड लागू हुनेछ । त्यस्तो हुन नसके सुपर ओभर हुनेछ । सुपर ओभर पनि हुन नसके आईसीसी वरीयताअनुसार नेपाल विजेता घोषणा हुनेछ ।