यौन दुर्व्यवहार गरेको आरोपमा शुभद्रा मदन फाउन्डेसनका सञ्चालक मदन राई पक्राउ
बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शुभद्रा मदन फाउन्डेसन (शुभम)का सञ्चालक मदन राई पक्राउ परेका छन् ।
बालिकाहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको घटना बाहिरिएसँगै शुक्रबार प्रहरीले ७५ वर्षीय राईलाई पक्राउ गरेको हो ।
राईलाई खोटाङस्थित शुभद्रा मदन फाउन्डेसनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए । राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङकै हिसारतमा राखिएको डीएसपी मुकारुङले बताए ।
उनका अनुसार घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ । कृषि विज्ञका रूपमा परिचित राईले आफैँले खोलेको फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको सम्बन्धी समाचार बिहीबार सेताेपाटी डटकमले प्रकाशित गरेको थियो ।
फाउन्डेसनका संस्थापकसमेत रहेका ७५ वर्षीय राईले किशाेरी तथा बालिकाका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने र नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको पीडित किशोरीहरूले बताएका छन् ।