जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताए ।

नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा पर्यटनमन्त्री किरातीले यस्तो जानकारी दिएका हुन् ।

‘जुन २३ तारिख असार ८ गतेदेखि पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्दैछौँ, हिजो मात्रै अन्तिम कुराकानी गरेका छौँ’, उनले भने ।

विसं २०७९ पुस १७ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनको पाँच महिनासम्म अन्तर्राष्ट्रिय उडान गर्न सकेको छैन । यो विमानस्थल भएर आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रियतर्फ अहिलेसम्म कुनैपनि उडान भएका छैनन् । विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरे पनि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

पर्यटनमन्त्री किराँतीले पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्ने बताए पनि कुन-कुन एयरलाइन्सका जहाजबाट उडान हुने भन्ने खुलाएका छैनन् ।