जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

महानगरको अनुगमन : पोखराका केही पेट्रोल पम्प बिना दर्ता सञ्चालन

जन्मभुमि खबर ,
पोखरा ।

पाेखरा महानगरपालिकाले पेट्रोलपम्पमा अनुगमन गरेकाे छ । पाेखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङकाे नेतृत्वमा हेमजा, मालेपाटन, जरेबर र विराैटामा सञ्चालित पाँच वटा पेट्रोलपम्पमा अनुगमन गरिएकाे हाे । अनुगमनमा पेट्रोलपम्पहरु परिणाम र गुणस्तरमा भने ठिकठाक भेटिए ।

पोखरा महानगरपालिकाले मंगलबार गरेको पेट्रोलपम्पको अनुगमनमा परिणाम र गुणस्तरमा कैफियत फेला नपरेकाे अनुगमन संयाेजक मञ्जुदेवी गुरुङले जानकारी दिनुभयाे ।

महानगरमा सञ्चालित ५ पेट्रोलपम्पमा अनुगमन गरिएको थियो । हेम्जाको जयबुद्ध आयल स्टोर्स, सिम्पानीको पराजुली आयल स्टोर्स, मालेपाटनमा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कालिका फ्युल स्टेसन, मासबारको बराल आयल डिष्ट्रिब्युटर्स र विरौटाको अन्नपूर्ण आयल डिष्ट्रिब्युटर्समा अनुगमन गरिएको हो ।

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ नेतृत्वको अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय, नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमका समेत सहभागि थिए । डिजेल र पेट्रोलको परिणाम, गुणस्तर, व्यवसाय दर्तासँगै नविकरण भए नभएको अनुगमन गरेको पोखरा महानगरपालिका अनुगमन समिति सदस्य भरतराज पौडेलले बताउनुभयाे । ‘परिणाम र गुणस्तरमा कैफियत फेला परेन’, पौडेलले भन्नुभयाे ।

उनका अनुसार केही पम्प महानगरमा बिना दर्ता गरि सञ्चालन भएको पाइएको छ ।  बिना दर्ता गरि  सञ्चालनमा  हेम्जाको जयबुद्ध आयल स्टोर्स  र बिरौटाको अन्नपूर्ण  आयल डिष्ट्रिब्युटर्स रहेका छन । गुरुङले तुरुन्त पोखरा महानगरमा दर्ता गर्न निर्देशन दिएका छन ।