जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

साधारण सदस्य पनि नरहने गरी ढाकाकुमारलाई रास्वपाको कारबाही, उनको ठाउँमा विन्दवासिनी कंशाकारलाई पठाउने निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्य खारेज गर्ने निर्णय गरेको छ ।

दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टी सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय अनुशासन समितिले गरेको छानबिनपछि बुझाएको सिफारिस अनुसार पार्टी विधानको धारा ५६ (४) बमोजिम उनको सदस्यता खारेज गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै अडियो रेकर्डको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत अधिकारसम्पन्न सरोकारवाला निकायले थालेको अनुसन्धानमा आवश्यक सहयोग गर्न पार्टी सदैव तयार रहेको उनको भनाई छ।

यस्तै रास्वपाको केन्द्रीय सदस्य समेत रहेकी मकवानपुरकी कंशाकार एसिड पीडित महिला हुन्। विगत ९ वर्षअघि उनी एसिड आक्रमणमा परेकी थिइन्।

रास्वपा स्थापनादेखि नै जिल्ला सदस्य रहेकी उनलाई केही साता अघि मात्रै पार्टी सभापति रवि लामिछानेले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।