यस्तो बेला नुन चुक बोकेर नआउनु होला रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का उम्मेदवार रवि लामिछानेले गाडी चालककाे दुर्घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै आफू बिहानैदेखि निरन्तर चिकित्सकसँग परामर्श रहेको र चालक सम्भु थापाको स्वास्थ्य अवस्था सुधाराेन्मुख रहेको जानकारी गराएका छन्।
‘आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छतबाट खसेर दुर्घटनामा पर्नुभयो । सिएमसी (पुरानो मेडिकल कलेज) मा उहाँ उपचाररत हुनुहुन्छ। बिहानैदेखि निरन्तर र भर्खरै पनि मैले चिकित्सकसँग परामर्श गरेअनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको छ,स्थिर छ। प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला योभन्दा धेरै म सँग तपाईलाई भन्ने कुनै शब्दै छैन । म नेताभन्दा पहिले मानिस हुँ। म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आँसु आउँछन्,’ उनले लेखेका छन्, ‘बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउनु होला। स्तरहीन बनेर राजनीतिकरण नगर्नुहोला। सक्नु हुन्छ भने मलाई सहने शक्ति मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी,मेरो भाइ शम्भु अस्पतालको शय्यामा संघर्ष गरिरहेको छ। उसका लागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिंगाे जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछुप्नु होला।’
आज बिहान चालक थापा चितवनमा लामिछाने बस्दै आएको घरको छतबाट खसेर घाइते भएका छन्। उनको सिएमसीमा उपचार भइरहेको छ। घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ।