जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछानेले पाए राहदानी प्रकरणमा क्लिनचिट

महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय गरेका छन्।

जिल्ला सरकारी वकिल कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनको आधारमा महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा उनले उक्त निर्णय लिएका हुन्।

यो निर्णयसँगै लामिछानले क्लिनचिट पाएका छन्। उनीविरुद्ध सरकारी निकायले मुद्दा चलाउने छैन।  राहदानी दुरुपयोग सम्बन्धी अनुसन्धानको फाइल आइतबार महान्यायाधिवक्ता कार्यालय पुगेका थिए।

प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा फाइल पेस गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयमा मुद्दा नचल्ने निर्णय गर्दै पठाएको थियो।

लामिछानेको नेपाली र अमेरिकी राहदानी रहेको तथा उनले एकै पटक दुई वटा राहदानी प्रयोग गरेको आरोप लागेको थियो। अमेरिकी राहदानी नबुझाई नेपाली प्रयोग गरेको पाइएपछि उनी विवादमा परेका थिए।

लामिछाने सुरुमा नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरि विवादमा परेका थिए। उक्त विवादमा सर्वोच्चले उनीसँग नेपाली नागरिकता नभएको फैसला गरेको थियो।

लगत्तै उनले जिल्ला प्रशासन कार्यालय पुगेर प्रक्रिया पूरा गरेर नागरिकता लिएका थिए।

सर्वोच्चको फैसलासँगै उनले सांसद र मन्त्री पद गुमाएका थिए।