जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरूको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

आज सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना एवं हुलदंगा एवं आतंकको बीमा साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने बताए ।

उनले आमसञ्चारमाध्यमलाई सम्बन्धित भूगोलमा बसोबास गर्ने जनसंख्याप्रति लक्षित गरी राष्ट्रिय, प्रादेशिक वा स्थानीय गैरनाफामूलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चारमाध्यम तथा स्वरोजगार साना, मझौला र ठूला लगानीका आधारमा वर्गीकरण गरी सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अध्यावधिक गर्न एवं उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न संघ र प्रदेश तहमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।

उनले वर्तमान सरकार सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्वर्द्धनकाे नीति लिँदै आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी, लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्न प्रतिबद्ध रहेको जिकिर गरे ।

उनले प्रेससम्बन्धी आवश्यक कानुनहरूको निर्माण र अधिकार प्रत्यायोजनको व्यवस्थित प्रारुप तयार गर्ने जिम्मेवारीलाई गम्भीरपूर्वक लिँदै नीतिगत र कानुनी रूपमा देखिएका समस्या र उल्झनहरू सुल्झाउन सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानले रेडियो सञ्चालक एवं नियमनको जिम्मेवारी तहगत रूपमा संघ, प्रदेश र स्थानीय तहलाई प्रत्यायोजित गरेको भए पनि संविधानमा व्यवस्था गरिएका एकल र साझा अधिकार सूचीको प्रभावकारी कार्यान्वयनका निम्ति नीतिगत र कानुनी प्रावधानहरू पर्याप्त नभएको बताए ।

प्रधानमन्त्री दाहालले प्रेस स्वतन्त्रता र सवलीकरणको सवालमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाए । उनले आफ्नो तेस्रोपटकको प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा वाक र प्रेस स्वतन्त्रतासँग सम्बन्धित केही विषयहरू थोरै विवादमा आउन थालेपछि आफूले प्रेस स्वतन्त्रताका पक्षमा पहल अघि बढाएको बताए ।