प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (६ चैत) विश्वासको मत लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गर्दैछन्। प्रधानमन्त्री प्रचण्डले आज दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।
१० पुसमा नेकपा एमाले र राप्रपासहित बनेको गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज पुन: विश्वासको मत लिन लागेका हुन्।
तीन महिनाको बीचमा प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिन लागेका प्रधानमन्त्री प्रचण्डलाई ११ दलले समर्थन गर्ने बताएका छन्। नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारेमा कुनै निर्णय औपचारिक लिएको छैन।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो।
प्रतिनिधिसभाको कुल २७५ सदस्यमध्ये विश्वासको मत पाउन प्रधानमन्त्रीलाई १३८ मत चाहिन्छ। प्रचण्डले पुस २६ गते २६८ सांसदबाट विश्वासको मत पाएका थिए ।
संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ।