पोखरा ३३ कि महिलाको हत्या गरी तनहुँको पानी टंकीभित्र शव फालेको आरोपमा एक जना पक्राउ
जन्मभुमि खबर ,
पोखरा ।
तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–४ मनहरीस्थित पपिलटार खानेपानीको ट्यांकीमा गत आइतबार एक महिलाको शव भेटियो । २/३ दिनदेखि पानीमा गन्ध आयो भन्दै उपभोक्ताले गुनासो गरेपछि समितिले ट्यांकीको ढक्कन खोलेर हेर्दा पानीमा शव तैरिरहेको अवस्थामा थियो ।
उपभोक्ता समितिले जिल्ला प्रहरी कार्यालयलाई तत्काल खबर गरी सडेगलेको अवस्थामा शव निकालियो । गरगहना र पैसा लुटपाट गरी हत्या गरेको शंका गरी प्रहरीले तत्काल अनुसन्धान सुरु गरेको तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले बताए । तनहुँ प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न रहेको अशंकामा पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । महिलाको प्यान्टको खल्तीमा पानीले भिजेको अवस्थामा भेटिएको मोबाइल नम्बर लेखिएको चिटको आधारमा शवको सनाखत गरिएको र त्यही आधारमा अनुसन्धान गर्दा शंकास्पद युवक पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक विष्टले बताए ।
उनले भने, ‘पोखरा महानगरपालिका–३३ बस्ने २० वर्षीय छोरा मनिष श्रेष्ठबाट मृतकको सनाखत गरिएको हो ।’ मृतक धादिङ जिल्ला गंगाजमुना गाउँपालिका ४ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका १२ अमरसिंह चोकस्थित डेरा गरी बस्दै आएकी ४४ वर्षीया शान्ति श्रेष्ठ भएको उनले बताए ।
‘छोरा मनिषले गत फागुन २१ गते अमरसिंह चोकबाट आमा हराएको भनी जिल्ला प्रहरी कार्यालय कास्कीमा हुलियासहितको निवेदन दिएका रहेछन्,’ प्रहरी उपरीक्षक विष्टले भने, ‘पानी ट्यांकीमा भेटिएको शव पहिचान भएपछि घटना कर्तव्य भएको भनेर हामीले प्रहरी कार्यालय कास्कीसँग समन्वय गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएका थियौं ।’
त्यस्तै, शान्तिको हत्या आरोपमा काभ्रेपलान्चोक पाँचखाल नगरपालिका ५ स्थायी घर भई हाल पोखरा–७ घारीपाटन बस्ने ३५ वर्षीय चित्र नामले चिनिने प्रकाश सुनारलाई बुधबार दिउँसो तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक विष्टले भने, ‘अनुसन्धानको क्रममा मृतक शान्तिका श्रीमान् ३ वर्षअघि नै बितेको थाहा भयो । विगत २ वर्षदेखि मृतक शान्ति र प्रकाशको चिनजान रहेछ । उनीहरूबीच पैसा लेनदेनसमेत हुने गरेको खुलेको छ ।
पछिल्लो पटक प्रकाशले मृतक शान्तिलाई १० हजार रुपैयाँ सापटी दिएको र सोही पैसा पटक–पटक माग्दा पनि फिर्ता नपाएकाले उनले शान्तिलाई कर्तव्य गरी पानीको ट्यांकीमा फ्यालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट छोरा बिरामी भएको भन्दै शान्तिले पैसा फिर्ता नदिएको र गत फागुन २१ गते तनहुँको म्याग्दे गाउँपालिकास्थित थर्पुमा आफन्तकोमा पैसा सापटी लिई दिन्छु भनी दुवै जना तनहुँ आएको खुलेको छ । सोही दिन बेलुका शान्तिलाई अभियुक्त प्रकाशले इट्टाले टाउकोलगायत सम्वेदनशील अङ्गमा प्रहार गरी उनको साथमा रहेको मोबाइल, पैसा र गरगहना लुटपाट गरेर भागेको देखिएको छ । यो घटनाको थप अनुसन्धान भइरहेको छ । उक्त सापटी रकमको विषयमा विवाद हुँदा घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
अभियुक्त प्रकाश २०६७ सालमा समेत कर्तव्यज्यान मुद्दामा कास्की प्रहरी कार्यालयबाट पक्राउ परी अदालतबाट २० वर्ष जेल सजाय तोकिएकोमा उक्त सजाय छुट भई १० वर्षपछि २०७७ सालमा थुनामुक्त भएका थिए ।
यस्तै, अभियुक्तले महिलाबाट लुटेको गरगहना पोखरा–४ महेन्द्रपुलस्थित रजनी सुनचाँदी पसलमा बिक्री गरेको र उक्त गरगहनाहरुको स्वरुप परिवर्तन गरी ८० लाल सुनजस्तो देखिने ढिक्कोको अवस्थामा सोही पसलमा फेला परी बरामद गरिएको छ । प्रहरीका अनुसार उक्त पसल सञ्चालक कास्की–२ अर्चलबोटका ४० वर्षीय रबिनकुमार गहतराजलाई समेत नियन्त्रणमा लिइएको छ । उनीहरू दुवैलाई बिहीबार जिल्ला अदालत तनहुँबाट कर्तव्य ज्यान मुद्दा शीर्षकमा ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
म्याग्दे–४ मनहरीस्थित मनहरी पीपलटार खानेपानी योजनाबाट त्यस क्षेत्रका १ सय ३८ घरपरिवारमा वितरण गरिन्छ । आफूहरूले उपभोग गर्दै आएको खानेपानी ट्यांकीमा शव भेटिएको र उक्त शवका कारण खानेपानी ट्यांकी र वितरण लाइन पुनः निर्माण गर्नुपर्ने अवस्था आएको हुँदा स्थानीय उपभोक्ताहरु आक्रोशित बनेका छन् ।