जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आलु महोत्सवलाई सफल बनाउन हेमजाका युवा सकृय

जन्मभुमि खबर ,
पोखरा ।

११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई सफल बनाउन हेमजाका युवा सकृय भएका छन् ।

मूल आयोजक समितिले सोमबार राखेको युवाको भेलाका सहभागीले आलु महोत्सव समग्र हेमजाको पहिचानसँग जोडिएको भन्दै त्यसलाई सफल बनाउन सहकार्य गर्ने प्रतिबद्घता जनाएका हुन्। महोत्सव यही चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म हुदैछ ।

भेलामा हेमजा युनाइटेडका अध्यक्ष राजेश त्रिपाठी, युवा रेडक्रस सर्कल हेमजाका अध्यक्ष अनिल पौडेल, अम्बिका मा.बि शिक्षक अभिभावक संघका अध्यक्ष महादेव अधिकारी लगाएतले आ-आफ्ना धारणा राखेका थिए ।

भेलाले आलु महोत्सवमा हेमजा लगायत यस क्षेत्रका बासिन्दाको सहभागिता बढाउने निर्णय पनि गरेको छ। त्यस अवसरमा मूल आयोजक समिति संयोजक सुविन श्रेष्ठ, महासचिव वसन्तकुमार श्रेष्ठ, युवा परिचालन उप समिति संयोजक अमित तिमिल्सिना, लगायतले सहजीकरण गरेका छन् ।

महोत्सव आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता प्रदेशस्तरीय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन्।