राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा सहभागी नहुने, नयाँ सहमति भएमा भने सरकारमा जान सक्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेको छ। सोमबार बसेको बैठकले उक्त निर्णय लिएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकुटीले जानकारी दिए।
उनले भने, ‘सरकारका विषयमा धेरै छलफल गरेनौं। सहमति तोडिएको आभाष भएपछि बाहिरिएका हौं। फेरि सहमति भयो भने जान सकिन्छ।’
“उहाँहरुले सरकारमा आउनुपर्यो भनिरहनुभएको छ । छलफल गरेर आउनुपर्यो भन्नुभएको छ,” उनले भने, “हामीले सहमति गरेर काम गर्ने हिसाबले सरकारमा गएका थियौं । हामीले पाएको गृह मन्त्रालय पछिल्लो समय सहजै दिने अवस्था नदिने भएपछि बाहिरिएको हो । नयाँ सहमति भएको छैन । नयाँ सहमति भए हामी सरकारमा जाने वा के गर्ने भन्ने निर्णय गर्छोंं ।”
आफूहरुले सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रमा छिटो उपनिर्वाचन गर्न माग गरेको बताउँदै वैशाख १० मा घोषणा गरिएकोमा स्वागत गरेको बताए। उपनिर्वाचनका लागि तयार रहन पार्टीपंक्तिलाई निर्देशन गर्ने निर्णय गरिएको पनि उल्लेख गरे।
यसैगरी, रास्वपा केन्द्रीय समितिमा १६ जना थपेर ४० पुर्याइएको छ। थप्ने क्रम जारी रहने बुर्लाकोटीले जानकारी दिए। रास्वपाले अहिले केन्द्रीय सदस्य नभएका तर सांसद रहेकाहरूलाई भने केन्द्रीय समितिमा ल्याएको छैन।
आजको बैठकले निशा मेहता, विन्दवासिनी कंसाकार, रूपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्रीलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।