जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी विश्वविद्यालयको तेस्रो वार्षिकोत्सव सम्पन्न ।

रमेश पोख्रेल / ४ फागुन,पोखरा

गण्डकी विश्वविद्यालयले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सव बिबिध कार्यक्रम सहित सम्पन्न गरेको छ । सो अवसरमा पोखरा ३२ मालमुलमा नवनिर्मित विश्वविद्यालयका भवनहरुको समेत उद्घाटन गरिएको छ ।

७ करोड रुपैयाँको खर्चमा विश्वविद्यालयका भवन तयार भएका हुन् । यी भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उदघाटन गरे ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले विश्वविद्यालयलाई प्रदेश सरकारका तर्फबाट पूर्ण साथ रहने बताए ।उनले विश्वविद्यालयको आविष्कार केन्द्रको सहयोगले गण्डकी प्रदेशमा उत्पादकत्वमा बिकास हुने कुरामा विश्वस्त रहेको बताए ।

त्यस्तै पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वविद्यालय विद्वान विदुषीहरुले चलाउनुपर्छ भनेरै कुलपति मुख्यमन्त्री नरहने व्यवस्था गरेको बताउदै विश्वविद्यालयहरुमा राजनीतिकरण, पार्टीकरण र गुटकरण धेरै हुनेगरेको गुनासो गर्दै त्यस्तो नहोस् भनेर गण्डकी प्रदेशले मुख्यमन्त्री कुलपति नहुने र न्यासिक परिषदमार्फत सञ्चालन गर्ने व्यवस्था गरेको कुरामा जोड दिए ।


उक्त समारोहमा ‘बदलिँदो विश्व परिवेश, नयाँ समयले ल्याएका नयाँ चुनौतीहरुलाई चिनेर चुनौतीभित्रका नयाँ सम्भावनाहरुलाई खोजी गर्ने विश्व नागरिक तयार गर्नु यस विश्वविद्यालयका लक्ष्य रहेको कुलपति प्रा डा. गणेशमान गुरुङले बताए । कुलपती गुरुङले गण्डकी प्रदेशमा सरकारी स्तरबाट शिक्षण अस्पताल नभएको हुँदा गण्डकी विश्वविद्यालयमार्फत त्यस्तो अस्पताल सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरि उपकुलपति डा. नवराज देवकोटाले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी विद्यार्थीलाई अध्यापन गराउन विश्वविद्यालय लागिपरेको बताए । रजिस्ट्रार डा. कैलाश तिमिल्सिनाले नवप्रवर्तनमा जोड दिँदै विश्वविद्यालय अघि बढेको जानकारी दिए । उनले नयाँ सोचका साथ र उत्कृष्ट बन्ने लक्ष्य राखिएको पनि बताए ।

विज्ञान प्रविधि संकायका डीन डा.कपिल अधिकारीले विश्वविद्यालयले तीनवटा विशेष आधारस्तम्भ शैक्षिक, अनुसन्धान र नवप्रवर्तनका गतिविधिहरुमा धेरै महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको बताए ।

कुलपति प्रा .डा .गणेशमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी पौडेल, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, लगायतले मन्तव्य राखेको कार्यक्रम सञ्चालन विश्वविद्यालयका सहायक प्रशासक डोलराज सुवेदी र भावना ढकालले गरेका थिए ।

विश्वविद्यालयमा हाल सूचना प्रविधि, खेलकुद व्यवस्थापन, औषधी विज्ञान, कानुन र व्यवस्थापन गरी स्नातक तहका पाँच कार्यक्रम सञ्चालनमा छन् । ती कार्यक्रममा ३१९ विद्यार्थी छन् । २४ पूर्णकालीन र २० करार गरी ४४ जनाले विश्वविद्यालयमा प्राध्यापन गरिरहेका छन् ।वार्षिकोत्सवमा विद्यार्थीहरुले नागचान समेत प्रस्तुत गरेका थिए ।