जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एमालेका आठ मन्त्रीले बुझाए सामूहिक राजीनामा

नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सामूहिक राजीनामा बुझाएका छन् ।

राजीनामा बुझाउन एमालेका सात मन्त्री प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । रक्षामन्त्री हरिप्रसाद उप्रेती भने अस्वस्थताका कारण बालुवाटारमा अनुपस्थित रहेको बताइएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषिमन्त्री ज्वालाकुमारी साह, भूमिमन्त्री राजेन्द्रकुमार राई, परराष्ट्रमन्त्री बिमला राई पौड्याल, स्वास्थ्यमन्त्री पदम गिरी, महिला तथा बालबालिकामन्त्री भगवती चौधरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती र उद्योगमन्त्री दामोदर भण्डारीले राजीनामा बुझाएका हुन् ।

सत्ता भागबन्डामा एमालेले उपप्रधानमन्त्रीसहित आठ मन्त्रालयको जिम्मेवारी लिएको थियो । माओवादी केन्द्रले एमालेसँगको गठबन्धन तोडेर आठ दलीय गठबन्धन बनाएपछि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो । एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवारलाई माओवादीले असहयोग गरेपछि सरकारबाट बाहिरिने निर्णय भएको हो ।

पुस १० गते भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नगएको र नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको उपाध्यक्ष पौडेलको भनाइ छ ।