जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको निधन पुष्ठि

जन्मभुमि खबर ,
पोखरा ।

पोखराका पत्रकार त्रिभुवन पौडेलको यति एयरलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु भएको छ । उनको शव सनाखत भएको पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले बताइन् ।

यति एयरको विमानमा सवार यात्रुको सुचीमा उनको पनि नाम थियो । उनको शव पहिचान भएसँगै विमान दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ ।

काठमाडौं पुगेर पोखरा घर फर्कने क्रममा ३७ वर्षीय पौडेलको दुर्घटनामा परेर मृत्यु भएको हो । हटलाइन दैनिकका सम्पादक उनी प्रेस सेन्टरको बैठकमा सहभागि हुन काठमाडौं गएका थिए ।

प्रेस सेन्टर नेपालका उपाध्यक्ष रहेका पौडेल कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा प्रेस संयोजक थिए । पौडेलले पोखरा फर्कनु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने कार्यक्रम भएपनि प्रधानमन्त्री योग दिवसको कार्यक्रममा व्यस्त भएपछि नभेटि फर्किएको बताईएको छ ।

पोखराको फुलबारी बस्दै आएका पौडेलको आमा, श्रीमति र एक छोरा छन् । पौडेल पोखराका स्थापित पत्रकार हुन् । उनको निधनले सिंगो पोखरेली पत्रकारिता स्तब्ध भएको छ ।

केन्द्रीय सदस्य पौडेलको निधनमा नेपाल पत्रकार महासंघले विज्ञप्ती जारी गर्दै स्तब्ध र शोकमग्न भएको बताएको छ । शोकमा सोमबार महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखा बन्द गर्ने निर्णय गरेको छ । १३ दिनसम्म शोकसभा बाहेक कुनैपनि औपचारिक कार्यक्रम नगर्ने उल्लेख गरिएको छ । भोलिदेखि १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला शाखामा शोक पुस्तिका राख्ने निर्णय महासंघले गरेको छ ।