पोखरा यति विमान दुर्घटना : ६९ जनाको शव संकलन , तिन जनाको अवस्था अझै अज्ञात
जन्मभुमि खबर ,
पोखरा ।
पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ६९ जनाको शव फेला परेको छ। अझैं ३ जनाको अवस्था अज्ञात छ।
दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको कास्की प्रहरीले जनाएको छ।
यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा चार चालकदलसहित ७२ जना सवार थिए। ६८ जना यात्रुमा ५३ जना नेपाली र १५ जना विदेशी नागरिक सवार थिए ।
आइतबार बिहान ६८ जना यात्रु लिएर विमान पोखरा उडेको थियो।
पोखरा विमानस्थलमा अवतरण गर्न नपाउँदै विमान दुर्घटना भएको हो। विमान पाइलट कमल केसीले उडाएका थिए।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रातको समयमा उद्धार गर्न कठिन हुने भएकाले भोलि बिहानैदेखि खोजी कार्य सुरु गर्ने गरी फौज घटनास्थलमै रहेको छ।
विमान दुर्घटना भएको खबर पाएपछि नेपाली सेनाको टोली घटना स्थलमा परिचालन भएको थियो। उद्धारमा करिब २ सय सेनाका फौज खटिएका थिए।
जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य गरिएको सेनाले जनाएको छ।
यती एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा सवार ६९ जनाको मृत्यु भएको पुष्टि गरेको छ। तीन जना हराइरहेका छन्।