पोखरा पृथ्वीचोकस्थित गोल घरमा चल्यो डोजर
जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित साविक अस्थायी ट्राफिक कार्यालयमा मंगलबार डोजर चलाएको छ । महानगरले उक्त ठाउँमा ‘पोखरा घर’ बनाउने योजनाका साथ भवन भत्काउन सुरु गरेको हो ।
‘पोखरा घर’ को भुइँतलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय, तेस्रो तलामा ग्यालरी र त्यसमाथि घन्टाघर बनाउने महानगरको योजना छ । त्यसका लागि महानगरले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ पनि विनियोजन गरिसकेको छ । पोखरा घर २ रोपनी क्षेत्रफलमा बन्नेछ ।
महानगरले यसअघि नै पोखरा घरमा आर्ट ग्यालरी र पुस्तकालय सार्ने भन्दै भदौ २३ गते महेन्द्रपुलस्थित ग्यालरी र पुस्तकालय भत्काएको थियो । जनस्तरबाट चर्को विरोध भएपछि महानगरले पृथ्वीचोकमा बन्ने पोखरा घरमा सुविधासम्पन्न पुस्तकालय र आर्ट ग्यालरी बनाउने आश्वासन दिएको थियो ।
‘पोखरा घर’ बनाउने उक्त जग्गा पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा छ । तत्कालीन समयमा समितिले त्यहाँ बसपार्कका लागि टिकट घर बनाउने भन्दै जग्गा अधिग्रहण गरेको थियो ।