जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

क्रिकेटर सन्दीप लामिछाने रिहा

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन्। उच्च अदालत पाटनले दिएको आदेशपछि २० लाख रुपैयाँ धरौटी बुझाएर उनी आज (शुक्रबार) काठमाडौं जिल्ला अदालतबाट रिहा भएका हुन्।

कारागार परिसरबाहिर केहीबेर समर्थकसँग खुसी साटेर उनी बुवाआमासँग कारमा घरतिर लागेका हुन्।

पहेँलो ज्याकेट र पहेँलै स्कार्पमा देखिएका सन्दीप कारागार परिसरबाट खुसी मुद्रामा निस्किएका थिए।

उच्च अदालत पाटनले दिएको आदेश पालना गर्ने प्रतिबद्धतासहित उनलाई शुक्रबार दिउँसो थुनामुक्त गरिएको हो। उनले अबको कानुनी प्रक्रिया बाहिरबाटै लड्नेछन्।

सन्दीपलाई धरौटीमा छोड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टीका–टिप्पणी गर्न पनि निषेध गरेको छ।

सन्दीप थुनामुक्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनका वकिल सरोजकृष्ण घिमिरेले सन्दीपको अनुपस्थितिमा नेपालको क्रिकेट धराशायी भएको अवस्थालाई मध्यनजर गरी क्यानले पुनः सन्दीपलाई कप्तानी दिनेमा विश्वस्त रहेको बताए।

बिहीबार न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छोड्न आदेश दिएको थियो।

शुक्रबार थुनामुक्त भएपछि सन्दीपले सुरुमा केही समय परिवारसँग समय बिताउने बताए। क्रिकेटमा फर्कने विषयमा पत्रकारले सोधेको प्रश्नमा सन्दीपले भने, ‘छिटै क्रिकेट मैदान फर्किन्छु। एकदमै राम्रोसँग फर्कन्छु।’