जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बलात्कार अभियोगमा फरार पोखरा–२८ माझठानाका ७१ वर्षीय तारानाथ पक्राउ

पोखरा ।

अपांग नाबालिग बलात्कार अभियोगमा १९ वर्ष जेल सजाय तोकिएका एकजना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा–२८ माझठानाका ७१ वर्षीय तारानाथ तिवारी छन् ।

तिवारी पुस २२ गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

तिवारीले ०७६ साउन ७ गते शारीरिक अपांगतासमेत रहेकी नाबालिग पोखरा १३ (परिवर्तित नाम)लाई जबरजस्ती गरेको उजुरी परेको थियो । सोही आरोपमा प्रहरीले तत्काल पक्राउ गरेर अनुसन्धानपश्चात जिल्ला अदालतमा पेश गरेको थियो ।

तत्कालीन समयमा तिवारीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा गए पनि ०७७ असोज २७ गतेको फैसलाले सफाइ दिएको थियो । जिल्लाको फैसलाविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा ०७९ बैशाख १४ गते उच्च अदालतले जिल्लाको फैसला उल्ट्याउँदै तिवारीलाई दोषी करार गरेको थियो ।

उच्चले तिवारीलाई दोषी ठहर गर्दै १९ वर्ष ३ महिना कैदसहित १० हजार जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । तर, जिल्ला अदालतबाट सफाया पाएसँगै उनी फरार थिए ।

फरार तिवारीलाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालतमा बुधबार नै पेश गरिसकेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

‘निजलाई कैद भुक्तानका लागि कारागार कार्यालय, कास्कीमा पठाइसकिएको छ,’ उनले भने ।