प्रधानमन्त्री प्रचण्डले पुस २९ गते विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २९ गते विश्वासको मत लिने तयारी गरेका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा सो विषयमा समझदारी भएको एक नेताले जानकारी दिए।
प्रचण्ड गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। नियुक्त हुनुअघि उनले सात दल र तीन स्वतन्त्र सांसदको समर्थन प्रस्तुत गरेका थिए।
प्रधानमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। संसद्को अधिवेशन भने पुस २५ गतेका लागि बोलाइएको छ।
उनले सोमबार पद तथा गोपनियताको शपथ खाएका थिए। त्यसैदिन उनले तीन उपप्रधानमन्त्री र चार मन्त्री पनि नियुक्त गरेका थिए। उनीहरुले पनि त्यसैदिन शपथ खाइसकेका छन्।
आइतबार प्रचण्डले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्दा सात दल र स्वतन्त्र सांसद गरी १६९ सांसदको साथ देखिएको थियो। यद्यपि, विश्वासको मत लिने बेलामा एकीकृत समाजवादी लगायतका दलको पनि समर्थन हुने आकलन गरिएको छ।