आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यति र बुद्ध एयरलाइन्सको प्रदर्शन उडान
जन्मभुमि खबर ,
पोखरा ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा दुई एयरलाइन्सले आज प्रदर्शन उडान गर्ने भएका छन्।
उद्घाटनको तयारीमा रहेको उक्त विमानस्थलमा बिहीबार बुद्ध र यती एयरलाइन्सले प्रदर्शन उडान गर्न लागेका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार बुद्धले दिउँसो २ बजे प्रदर्शन उडान गर्ने बताएको छ।
कम्पनीका सूचना अधिकारी दीपेन्द्र कुमार कर्णका अनुसार बुद्धले पुरानो (हाल सञ्चालनमा रहेको) विमानस्थलबाट उडान सुरू गर्नेछ।
‘हाम्रो जहाज पुरानो विमानस्थलबाट अवतरण गरी एक फन्को घुमेर नयाँ विमानस्थलमा अवतरण हुनेछ,’ उनले भने, ‘प्रदर्शन उडान बढीमा आधा घन्टाको हुनेछ। त्यसपछि पुरानै विमानस्थलबाट व्यावसायिक उडान हुनेछ।’
त्यस्तै यती एयरलाइन्सले पनि बिहान १० बजे प्रदर्शन उडानको तयारी गरेको छ। यतीले चालक दलका सदस्यहरूलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एयरलाइन्सको आन्तरिक तयारीका लागि उडान भर्न लागेको प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
यसरी हुने उडानले चालक दलका सदस्यहरूलाई नयाँ विमानस्थलको वस्तुस्थिति जानकारी हासिल गर्न सहज हुने उनको भनाइ छ।
यतीले काठमाडौंबाट पोखराका लागि दैनिक ७ वटा उडान गर्दै आएको छ। अब अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नियमित उडान संख्या थप गर्ने र पोखराबाट अन्य विमानस्थलमा क्षेत्रीय उडान गर्ने तयारी गरेको प्रवक्ता बर्तौलाले बताए।