जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिए

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आज नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संघीय संसद्) मा उनीहरूले शपथ लिएका हुन्।

ज्येष्ठ सदस्यका हिसाबले राप्रपाका समानुपातिक सांसद पशुपतिशम्शेर जबराले सांसदहरूलाई शपथ गराएका हुन्। जबराले भने हिजो बुधबारै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।

प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन हुनै बाँकी भएकोले जबराले नवनिर्वाचित सांसदहरूलाई शपथ गराएका हुन्।

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानूनबमोजिम शपथ लिनुपर्ने व्यवस्था रहेको छ।

यस्तै आजको शपथ ग्रहण समारोहअघि सर्वदलीय बैठक बसेको थियो। बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि र स्वतन्त्र सांसद सहभागी थिए ।